महिला तथा सामाजिक सुरक्षाका मुद्दामा मन्त्री बादी र सांसद राना मगरबीच सहकार्यको प्रतिबद्धता
काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादी र पूर्व उपसभामुख तथा प्रतिनिधिसभा सदस्य इन्दिरा राना मगरबीच आइतबार मन्त्रालयमा भेटवार्ता भएको छ। भेटका क्रममा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय तथा सामाजिक सुरक्षा क्षेत्रसँग सम्बन्धित समसामयिक विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। छलफलमा महिला तथा बाल अधिकारको संरक्षण, बाल संरक्षण प्रणालीको सुदृढीकरण, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्ने, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको सम्मान अभिवृद्धि गर्ने तथा सामाजिक सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा विचार आदानप्रदान भएको थियो। सो अवसरमा मन्त्री सिता बादीले मन्त्रालयले आफ्नो कार्यक्षेत्रभित्र पर्ने नागरिकको अधिकार संरक्षण, सेवा प्रवाहको प्रभावकारिता अभिवृद्धि तथा समावेशी विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताइन्। पूर्व उपसभामुख तथा सांसद इन्दिरा राना मगरले महिला, बालबालिका तथा सामाजिक सुरक्षासँग सम्बन्धित विषयमा आवश्यक सुझाव, सहकार्य र समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्। भेटमा मन्त्रालयका नीति तथा कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको हित, अधिकार संरक्षण र सामाजिक सुरक्षाको क्षेत्रमा आगामी दिनमा समेत सहकार्यलाई सुदृढ बनाउने विषयमा सकारात्मक छलफल भएको मन्त्रालयले जनाएको छ।
