व्यवसायीका लागि के गर्दैछ नेपाल सुनचाँदी, रत्न तथा आभूषण महासंघ ?
विमल धमला महासचिव नेपाल सुनचाँदी, रत्न तथा आभूषण महासंघ नेपालको परम्परागत आभूषण व्यवसाय केवल आर्थिक कारोबार र व्यापारिक क्षेत्र मात्र नभएर देशको मौलिक पहिचान, अद्वितीय संस्कृति, पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सीप, कला र अर्थतन्त्रको एक मुख्य मेरुदण्डका रूपमा स्थापित रहँदै आएको छ । यस क्षेत्रसँग देशका हजारौँ रैथाने व्यवसायी, दक्ष शिल्पकर्मी, कालीगढ तथा लाखौँ श्रमिकको जीवनयापन प्रत्यक्ष रूपमा जोडिएका छन् । जसले आन्तरिक अर्थतन्त्रलाई चलायमान बनाउन, स्वदेशमै ठुलो ख्यामा रोजगारी सिर्जना गर्न र राज्यको राजस्व वृद्धिमा हरेक वर्ष अर्बौँको योगदान पुर्याउँदै आएका छन् । यति ठूलो आर्थिक र सांस्कृतिक महत्व बोकेको क्षेत्र भए तापनि नेपालको सुनचाँदी व्यवसायले लामो समयदेखि स्पष्ट ऐन, नियमावली र कार्यविधिको अभावमा अनेकौँ नीतिगत अस्पष्टता, कानुनी जटिलता तथा प्रशासनिक असहजताका कारण गम्भीर चुनौतीहरूको सामना गर्नु परिरहेको छ । समयसापेक्ष कानुन र व्यवसायमैत्री वातावरण नहुँदा एकातिर लगानीकर्ताहरू असुरक्षित महसुस गरिरहेका छन् भने अर्कातिर आम उपभोक्तासमेत यसको प्रत्यक्ष मारमा पर्दै आएका छन् । यिनै समग्र समस्याहरूको स्थायी समाधान खोज्ने र देशभरका व्यवसायीहरूको साझा आवाजलाई बुलन्द बनाउने उद्देश्यका साथ नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घ स्थापना कालदेखि नै निरन्तर रूपमा क्रियाशील रहँदै आएको छ । व्यवसायीहरूको हकहितको पूर्ण संरक्षण, बजारको मर्यादा अभिवृद्धि, श्रमको उचित सम्मान, उपभोक्ताको अधिकार रक्षा तथा समग्र आभूषण क्षेत्रलाई पारदर्शी, सुरक्षित र व्यवस्थित बनाउन महासङ्घले रणनीतिक रूपमा आफ्नो भूमिका निर्वाह गरिरहेको छ । विगतका वर्षहरूमा कच्चा सुनको आयात–निर्यात प्रक्रियामा देखिएका व्यावहारिक अड्चन, बैंकहरूबाट हुने कोटा प्रणालीको अपर्याप्तता, कर तथा राजस्व प्रशासनमा देखिने अन्योल र विभिन्न प्रशासनिक झन्झटका कारण बजारमा कृत्रिम अभाव र अन्योल सिर्जना हुने गरेको छ, जसले व्यवसायीहरूको आत्मविश्वास मात्र घटाएको छैन, समग्र बजारकै विश्वसनीयतामा समेत धक्का पुर्याएको छ । महासङ्घले यी तमाम समस्याहरूलाई केवल सतही गुनासोका रूपमा मात्र सीमित नराखेर राज्य र निजी क्षेत्रको साझा जिम्मेवारीका रूपमा लिँदै अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, वाणिज्य विभाग, नेपाल राष्ट्र बैंक तथा अन्य सरोकारवाला निकायहरूसँग निरन्तर संवाद, अन्तरक्रिया र पैरवी गर्दै आएको छ । नेपालको अस्थिर राजनीतिक परिदृश्य र बारम्बार भइरहने सरकार परिवर्तनको चक्रले समग्र मुलुकको अर्थतन्त्रसँगै सुनचाँदी क्षेत्रलाई पनि निकै ठूलो क्षति पुर्याएको छ । कुनै एउटा सरकार वा नेतृत्वसँग व्यवसायका समस्या र समाधानका उपायहरूबारे लामो गृहकार्य भई नीतिगत निर्णय हुने चरणमा पुग्दा नपुग्दै सरकार परिवर्तन हुने र नयाँ आउने नेतृत्वसँग पुनः सुरुदेखि नै संवादको प्रक्रिया थाल्नुपर्ने बाध्यताले गर्दा धेरै महत्वपूर्ण नीतिहरू नीतिनिर्माणकै तहमा अलपत्र पर्ने गरेका छन् । यस्तो अस्थिरताका बाबजुद पनि महासङ्घले आफ्नो संस्थागत जिम्मेवारी र दृढतालाई कहिल्यै कमजोर हुन दिएको छैन र नेतृत्व परिवर्तन भए पनि व्यवसायीहरूको पक्षमा निरन्तर आवाज उठाइरहेको छ । मुलुकमा नयाँ सरकार गठन भएसँगै महासङ्घले आफ्नो उच्चस्तरीय समन्वय र लबिइङलाई थप तीव्र बनाएको छ, जसअन्तर्गत सुनचाँदी व्यवसायसँग सम्बन्धित विद्यमान ऐन, नियमावली र कार्यविधिहरूलाई समयानुकूल परिमार्जन गरी व्यवसाय सञ्चालनलाई अझ सहज, सुरक्षित र पारदर्शी बनाउन ठोस खाका प्रस्तुत गरिएको छ । महासङ्घको स्पष्ट मान्यता छ कि मुलुकमा स्थिर सरकार, दूरगामी स्पष्ट नीति, पारदर्शी कानुनी व्यवस्था र सरकार तथा निजी क्षेत्रबीच उच्च स्तरको विश्वासपूर्ण सहकार्य नभएसम्म आभूषण क्षेत्रले आफ्नो वास्तविक क्षमता प्रदर्शन गर्न सक्दैन । व्यवसायीले भयमुक्त वातावरणमा सम्मानका साथ लगानी गर्न पाउने, उपभोक्ताले पूर्ण गुणस्तरीय र विश्वसनीय सेवा प्राप्त गर्ने तथा राज्यले पारदर्शी राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने उपयुक्त वातावरण निर्माण गर्नु आजको मुख्य आवश्यकता हो । यस वृहत् राष्ट्रिय अभियानमा महासङ्घ केवल व्यवसायीहरूको प्रतिनिधित्व गर्ने संस्था मात्र नभएर देशको समग्र आभूषण उद्योगको भविष्य रूपान्तरण गर्ने एक जिम्मेवार साझेदारका रूपमा अगाडि बढिरहेको छ । देशभरका सम्पूर्ण व्यवसायीहरूको अभूतपूर्व एकता, सहकार्य र अटुट विश्वास नै महासङ्घको मुख्य ऊर्जा र शक्ति हो, र यही शक्तिका आधारमा नेपाली सुनचाँदी व्यवसायको उज्ज्वल एवं दिगो भविष्य निर्माण गर्न तथा शिल्पकर्मीहरूको जीवनस्तर सुधार गर्दै सुनचाँदी क्षेत्रको चौतर्फी विकासका लागि महासङ्घको यो गौरवशाली अभियान आगामी दिनमा अझ सशक्त र निरन्तर रूपमा जारी रहनेछ ।
