SHARE
Samata Press · आइबार​ २८ असार २०८३ ०९:३२ PM · 1 मिनेट पढाइ

दलित समुदायले सम्मानजनक थर लेख्न पाउनुपर्छ : सचेतक परियार

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले दलित समुदायले सम्मानजनक थर लेख्न पाउनुपर्ने बताएका छन्।  उनले ०५२ सालमै तत्कालीन सरकारले थर लेख्न पाउने अधिकार दिए पनि व्यवहारमा भने अहिले पनि दलित समुदायले सम्मानजनक थर लेख्न नपाउनु बिडम्बनापूर्ण भएको बताए।  आइतबार समता फाउन्डेसनले गरेको दलित समुदायका थर अद्यावधिकसम्बन्धी छलफल कार्यक्रममा सचेतक परियारले दलित समुदायका सबै थरहरु अद्यावधिक गर्नुपर्ने बताए। उनले अहिले सूचीकृत भएकोमा कतिपय प्रचलित थरहरु छुटेका र कतिपय अपमानजनक थरहरु निरन्तर रहेको भन्दै अद्यावधिक गर्दा त्यसलाई व्यवस्थित गर्नुपर्ने बताए।  सरकारले दलित समुदायलाई छात्रबृत्ति, लोकसेवा तथा राज्यका अन्य निकायमा सेवा प्रवेशका लागि दलित आयोगको थर सूचीमा रहेका थरहरूलाई दलित प्रमाणित गर्नुपर्ने अनिवार्य गरेको छ। तर थर सूचीकरण नभएकै कारण कतिपय दलित समुदायका व्यक्तिले अवसरबाटै बञ्चित हुनुपर्ने अवस्था छ।  सचेतक परियारले प्रशासनिक निकायको झन्झटिलो प्रक्रिया र पहुँच अभावका कारण दलित समुदायले अझैपनि अपमानजनक थर प्रयोग गर्नुपर्ने बाध्यता रहेको बताए। उनले सरकारले त्यसको अन्त्य गर्नुपर्ने र सबैले सम्मानजनक थर प्रयोग गर्न पाउने अवस्थाको सुनिश्चतता सरकारले गर्नुपर्ने बताए।