गणेश नेपाली प्रकरणमा नौ बुँदे सहमति, सात दिनभित्र छानबिन प्रतिवेदन आउने
काठमाडौं । मुगुको सोरु गाउँपालिका-१ का २५ वर्षीय गणेश नेपालीको आत्मदाहपछि उपचारका क्रममा भएको निधनको घटनामा नेपाल सरकार, काठमाडौं महानगरपालिका र पीडित परिवारबीच नौ बुँदे सहमति भएको छ । आइतबार काठमाडौंका प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भएको वार्तापछि भएको सहमतिअनुसार घटनाको सत्यतथ्य पत्ता लगाउन नेपाल सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गर्नेछ । उक्त समितिले गठन भएको मितिले सात दिनभित्र प्रतिवेदन सरकारसमक्ष बुझाउने सहमति भएको छ । सहमतिअनुसार गणेश नेपालीलाई शहीद घोषणा गर्ने विषयमा प्रचलित कानुन, विगतको अभ्यास तथा छानबिन समितिको प्रतिवेदन र सिफारिसका आधारमा सरकारले आवश्यक प्रक्रिया अघि बढाउनेछ । घटनाका दिन फिल्डमा खटिएका काठमाडौं महानगरपालिकाका महानगरीय प्रहरी बलका कर्मचारीलाई हालका लागि निलम्बन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले महानगरपालिकालाई पत्राचार गर्ने तथा छानबिन समितिको प्रतिवेदनका आधारमा थप निर्णय गरिने सहमतिमा उल्लेख छ । त्यस्तै, काठमाडौं महानगरपालिकाको आगामी कार्यपालिका बैठकबाट मृतककी श्रीमतीलाई योग्यता र क्षमताका आधारमा रोजगारी उपलब्ध गराइने तथा उनकी छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण खर्च महानगरपालिकाले व्यहोर्ने निर्णय गरिनेछ । सहमतिअनुसार मृतकको आश्रित परिवारलाई राहतस्वरूप उपयुक्त रकम उपलब्ध गराइने, अन्त्येष्टि र काठमाडौंमा गरिने काजक्रियाको सम्पूर्ण व्यवस्थापन महानगरपालिकाले गर्ने तथा आफन्तको यातायात र बसोबास खर्चसमेत महानगरले व्यहोर्नेछ । यस्तै, शव बुझ्ने, पोस्टमार्टमलगायत कानुनी प्रक्रिया पूरा गर्न सरकारका तर्फबाट आवश्यक सहजीकरण गर्ने तथा पीडित परिवारका एकाघरका सदस्यको स्वास्थ्य बिमाको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमार्फत मिलाइने सहमति भएको छ । सहमतिपत्रमा पहिलो पक्षका तर्फबाट काठमाडौंका प्रमुख जिल्ला अधिकारी र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा दोस्रो पक्षका तर्फबाट मृतक गणेश नेपालीकी श्रीमती, बुवा, आमा, बहिनीलगायत वार्ता समितिका सदस्यले हस्ताक्षर गरेका छन् ।
