बागलुङ–रुकुम पूर्व सिधा सडक सञ्चालन भएसँगै दुई जिल्लाको दूरी छोटियो
ढोरपाटन (बागलुङ) । बागलुङको ढोरपाटन र पूर्वी रुकुमको तकसेरा सिधा सडक सञ्जालमार्फत जोडिएपछि दुई जिल्लाबीचको आवतजावत सहज भएको छ। गत फागुन १६ गते बागलुङको निसेलढोर हुँदै रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाको मनिमर्फेस क्षेत्रमा सडकको ट्र्याक जोडिएसँगै ढोरपाटन–तकसेरा सडक सञ्चालनमा आएको हो। सडक सञ्चालनपछि स्थानीयवासीलाई आवतजावत तथा दैनिक उपभोग्य सामग्री ढुवानीमा ठूलो राहत पुगेको छ।
