SHARE
Samata Press · आइबार​ २८ असार २०८३ ०५:५८ PM · 1 मिनेट पढाइ

साहित्यकार पाण्डेयको उपन्यास ‘श्रीमती’माथि समीक्षा

वासिङ्टन डिसी (अमेरिका) । अमेरिकामा बस्दै आएका लेखक तथा साहित्यकार तीर्थराज पाण्डेयद्वारा लिखित उपन्यास ‘श्रीमती’माथि समीक्षा गरिएको छ । दुई सय १३‌‌औँ भानुजयन्तीको अवसरमा ‘स्टार स्कलर्स नेटवर्क अमेरिका’ले आयोजना गरेको कार्यक्रमका सहभागी वक्ताहरुले श्रीमती उपन्यासले सामाजिक संरचनामा श्रीमतीको भूमिकामाथि बहस सृजना गरेको बताए । कार्यक्रममा मेरिल्याण्ड राज्यका राज्य सांसद डा हयारी भण्डारीले श्रीमती उपन्यासले नेपाल र प्रवासको बहुआयामिक पाटोको बारेमा समेटेको बताए ।  उनले भने, “उपन्यासमा विभिन्न पात्रहरुले सूदूरपश्चिमको जनजीवनलाई राम्रोसँग व्याख्या गर्दै स्थानीय भाषा, संस्कृतिको विषयमा चर्चा गरिएको छ । यो पुस्तकले जन्मभूमिमा भोगिने भोगाइ र त्यसपछि प्रवासमा भोगिने भोगाइलाई श्रीमती र श्रीमान्को सहकार्यमार्फत कसरी सफलता प्राप्त गर्न सकिन्छ भन्ने तथ्यलाई राम्रोसँग उजागर गरेको छ ।” साहित्यकार तथा पत्रकार मधुकर अधिकारीले श्रीमती उपन्यास पछिल्लो समयमा लेखिएका प्रवासको साहित्यमा उत्कृष्ट नमूना भएको बताए । उनले भने, “उपन्यासकारले समाजको संरचनागत कार्यात्मकतालाई श्रीमती उपन्यासमा पात्रमार्फत बहुआयामिक पाटो खोतलेका  छन् ।” मोर्गन स्टेट युनिभर्सिटीका प्रा कृष्ण विष्टले उपन्यासकारले यस उपन्यासमार्फत समाजको संरचनामा श्रीमतीको भूमिकाबारे चर्चा गरेको बताए । स्टार स्कलर्सका अध्यक्ष प्रा डा उत्तम गौली, डा दीपक कोइराला, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीलगायतले उपन्यासका विविध पाटोको बारेमा चर्चा गरेका थिए । पुस्तकका लेखक तथा साहित्यकार पाण्डेयले किताब प्रकाशनको बारेमा जानकारी दिए । अनेसास मेरिल्याण्ड च्याप्टरकी अध्यक्ष पूजा चन्द, अनेसास विओटीका महासचिव प्रकाश नेपाल, साहित्यकार सीता पाण्डे, डिसी च्याप्टरका अध्यक्ष नीलकण्ठ सुवेदी, पशुपति वञ्जाडे, अर्जुन हमाल, दमन विक्रम शाहलगायतले पुस्तकमाथि टिप्पणी गरेका थिए ।   दोस्रो पुस्ताका सलोना भण्डारी, प्रज्ज्वल श्रेष्ठ, स्वर्णिम त्रिपाठी, मलिना छन्त्याल र सहिसा छन्त्यालले पुस्तकबारे आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा साहित्यकार, लेखक, कवि तथा साहित्यका अनुरागीको बाक्लो उपस्थिति रहेको थियो । श्रीमती उपन्यास सामाजिक विषयमा लेखिएको छ । यसका मुख्य पात्र वितुर र धिमही नेपालको सूदूरपश्चिममा जन्मिएर हुर्किएर कोरिया, जापान हुँदै अमेरिका पुगेर बस्दा श्रीमान् र श्रीमतीबीच पारस्परिक सम्बन्धले सफलता हासिल गरेको घटनाको व्याख्या गरिएको छ । यसलाई ‘स्टार स्कलर्स’ले प्रकाशन गरेको हो ।