राजधानीको प्यास मेटाउने सुन्दरीजलमा नै खानेपानी अभाव
काठमाडौँ । काठमाडौँ उपत्यकाको प्रमुख खानेपानी आपूर्ति केन्द्र सुन्दरीजलका स्थानीय वर्षौंदेखि खानेपानी नपाउँदा काकाकुलको नियति भोग्न बाध्य छन् । राजधानीमा वितरण गरिने मेलम्चीको पानी सुन्दरीजलमा प्रशोधन हुने भए पनि गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका धेरै बस्तीमा नियमित रूपमा खानेपानी आपूर्ति नहुँदा त्यहाँका स्थानीय ढुङ्गेधारा, कुवा र सार्वजनिक धारामा निर्भर छन् । मुहान क्षेत्रका बासिन्दाले नै खानेपानी नपाएको विषयमा स्थानीय तथा सङ्घीय जनप्रतिनिधिले वर्षौंदेखि सरकारको ध्यानाकर्षण गराउँदै आए पनि समस्या समाधान भएको छैन । संसद्को खानेपानी तथा पूर्वाधारसँग सम्बन्धित समितिको गत साताको बैठकमा काठमाडौँ निर्वाचन क्षेत्र नं ३ का सांसद राजुनाथ पाण्डेले गोकर्णेश्वर क्षेत्रमा खानेपानीको समस्या समाधान नभए मेलम्चीको पानी राजधानीमा आपूर्ति हुन नदिने चेतावनी दिएका थिए । शनिबार उनले सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रतिनिधिसँग बैठक गरी स्थानीय समस्या समाधानका लागि आवश्यक पहल गर्न निर्देशन दिए ।
