भारतबाट वैदेशिक रोजगारीमा पठाउने १५९ म्यानपावर कारबाहीमा
काठमाडौँ । अनुमति नलिइ भारतस्थित विमानस्थल प्रयोग गरेर नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने १५९ म्यानपावर कम्पनी कारबाहीमा परेका छन्। वैदेशिक रोजगार विभागले ती कम्पनीहरूलाई वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२ विपरित कार्य गरेको ठहर गर्दै पहिलो पटक सचेत गराउने कारबाही गरेको हो। विभागका अनुसार वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने इजाजतप्राप्त संस्थाले स्वदेशी विमानस्थल प्रयोग गर्नुपर्ने कानुनी व्यवस्था पालना भए–नभएको विषयमा अध्ययन तथा अनुगमन गर्न २०८२ चैत १ गतेदेखि २०८३ जेठ मसान्तसम्म श्रम स्वीकृति लिएर विदेश गएका श्रमिकहरूको उडान विवरण माग गरिएको थियो। यस्तै विवरण नै उपलब्ध नगराउने ४३९ वटा म्यानपावर कम्पनीलाई पनि वैदेशिक रोजगार ऐनको दफा ३७ उल्लंघन गरेको ठहर गर्दै पहिलो पटक सचेत गराउँदै पुनः विवरण बुझाउन निर्देशन दिएको छ।
