नबिल बैंक ४३ वर्षमा प्रवेश : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय
काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंक लिमिटेडले आफ्नो स्थापनाको ४२ वर्ष पूरा गरी ४३औँ वर्षमा प्रवेश गरेको सुखद अवसरमा विशेष उत्सव मनाइरहेको छ । सन् १९८४ मा स्थापना भएको यस बैंकले ‘बैंकिङ एन्ड बियोन्ड’ (बैंकिङ र त्योभन्दा धेरै) भन्ने मूल दर्शनलाई आत्मसाथ गर्दै विगत चार दशकदेखि नेपालको बैंकिङ क्षेत्रको आधुनिकिकरण र राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरणमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ । नेपालका एकमात्र अर्बपति उद्यमी विनोद चौधरीको परिकल्पना अनुसार अन्तर्राष्ट्रिय स्तरको आधुनिक बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले सुरु भएको यो बैंक आज नेपालको सबैभन्दा भरपर्दो र अग्रणी वित्तीय संस्थाका रूपमा स्थापित भएको छ । आर्थिक वर्ष २०८२÷८३ को तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकले वित्तीय सूचकहरूमा ऐतिहासिक सफलता हासिल गरेको छ । बैंकले हाल ५८८ अर्ब ८५ करोड रुपैयाँ निक्षेप संकलन गरी ४६४ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने बैंकको कुल सम्पत्ति ७१८ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ ।
