विष्णुकुमारीको सफलता : गृहिणी, उद्यमी र अब प्रशिक्षकसम्म
हेटौँडा। हेटौँडा उपमहानगरपालिका–५ पिप्लेकी विष्णुकुमारी राईलाई १२ वर्षअघि समाजले एउटा सामान्य गृहिणीभन्दा बढी केही ठानेको थिएन। तर अहिले उनको पहिचान फेरिएको छ। त्यही समाजले काठका सामग्री बनाउन, सीप सिकाउन र उद्यम सञ्चालनका लागि उनकै सहयोग खोज्छ। सामान्यतया कामकाजी भन्नेबित्तिकै सफा पोशाक, सुविधासम्पन्न कार्यालय, कम्प्युटर, फाइल र मासिक तलबको कल्पना गरिन्छ। तर विष्णुकुमारीको कार्यस्थल भने काठको धुलोले भरिएको कार्यशाला हो। बिहान घरधन्दा सकेपछि उनी काठका मुडा, फल्याक र अन्य सामग्रीमा सुन्दर बुट्टा कुँद्न थाल्छिन्। बिहान १०:०० देखि साँझ ५:०० बजेसम्म विष्णुकुमारीको समय सिर्जनात्मक श्रममै बित्छ। दैनिक हजारौँ युवा रोजगारीको खोजीमा विदेशिइरहेका बेला महिलाले काठको काम गरेर जीवन धान्नु अझै पनि धेरैका लागि नौलो विषय हो। तर विष्णुकुमारीका लागि यही श्रम सम्मान, आत्मविश्वास र पहिचान बनेको छ। दिनभरि शरीर थाके पनि उनको मन भने नयाँ सृजना गर्ने उत्साहले भरिएको हुन्छ। 'रात बितेर बिहान कहिले हुन्छ र फेरि काममा फर्कन पाइन्छ भन्ने लागिरहन्छ', विष्णुकुमारी मुस्कुराउँदै भन्छिन्। एक समय उनको दैनिकी घरधन्दा, गाईवस्तुको स्याहार, घाँसदाउरा र सोत्तर बोक्नमै सीमित थियो। पिप्लेपोखरा सामुदायिक वन उनका लागि घाँस र दाउराको स्रोतमात्रै थियो। तर सामुदायिक वनले हरित रोजगारी र वनमा आधारित उद्यम विकासको अवधारणा अघि सारेपछि विष्णुकुमारीको सोचमात्र होइन, जीवन नै बदलियो। घाँसदाउरा बोकेका ती हातले अहिले काठका मुडा, फल्याक र काष्ठ हस्तकलाका आकर्षक सामग्री सृजना गर्छन्। सुरुमा महिलाले पनि काठको काम गर्न सक्छन् भन्ने विश्वास उनलाई स्वयंलाई थिएन। तर एक दिन सामुदायिक वनमार्फत महिलालाई उद्यमी बनाउने उद्देश्यले काष्ठ हस्तकलाको तालिम सञ्चालन हुने जानकारी पाएपछि विष्णुकुमारीको जीवनले नयाँ मोड लियो। त्यो दिन आवश्यकतासँगै रहरले सुरु गरेको तालिम नै उनको भविष्य बन्यो। तालिमपछि उनले काष्ठ हस्तकलालाई व्यवसायका रूपमा अघि बढाउने निर्णय गरिन्। अहिले विष्णुकुमारीको नेतृत्वमा सञ्चालित 'श्रमजीवी महिला काष्ठ हस्तकला लघुउद्यम'ले सामूहिक रूपमा सामग्री उत्पादन गर्दै राम्रो आम्दानी गरिरहेको छ। 'एकले थुकी सुकी, हजारले थुकी नदी' उखान सम्झँदै उनी भन्छिन्, 'हामी समूहमा काम गर्छौँ। एउटाको सीप अर्कोको बल बन्छ। त्यसैले हाम्रो उत्पादन पनि बढेको छ र आम्दानी पनि।' उनीहरूको समूहले वनमा खेर जाने विभिन्न प्रकारका काठलाई उपयोग गरेर ढोकाका बुट्टा, फोटो फ्रेम, घण्टी फ्रेम, उपहार सामग्री, सजावटका सामग्री, फर्निचरमा प्रयोग हुने कलात्मक डिजाइन, बक्स, पलङका बुट्टालगायत दर्जनौँ सामग्री उत्पादन गर्दै आएको छ। अस्मिता नेपालले एपीएफ नेटको सहयोगमा प्रदान गरेको तालिमले उनीहरूलाई सीप सिकाउनेमात्र होइन, उद्यम सञ्चालन गर्ने आत्मविश्वास पनि दियो। त्यसपछि आवश्यक उपकरण र थप सीप विकासका अवसर पनि प्राप्त भए। पछिल्ला वर्षहरूमा ग्रिन फाउन्डेसन नेपालले राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रदर्शनीमा सहभागी गराउँदै बजार विस्तारमा महत्त्वपूर्ण सहयोग गरेको विष्णुकुमारी बताउँछिन्। त्रिचालीस वर्षीया राई जिज्ञासु र सिक्न चाहने स्वभावकी हुन्। अहिले विभिन्न सङ्घसंस्था तथा स्थानीय तहबाट तालिम सञ्चालनका लागि उनलाई प्रशिक्षकका रूपमा निमन्त्रणा आउन थालेको छ। आफूले सिकेको सीप अब अरू महिलालाई सिकाउन पाउँदा झन् खुसी लाग्ने उनी बताउँछिन्। विष्णुकुमारी भन्छिन्, 'सुरुमा त मलाई धेरैले हाँसोको पात्र बनाए। महिलाले काठको काम गर्न सक्दैनन् भन्ने धारणा थियो, आफ्नै परिवारलाई पनि विश्वास लाग्दैनथ्यो, तर अहिले त्यही मानिसहरूले मेरो कामको प्रशंसा गर्छन्।' उनका अनुसार इच्छाशक्ति, निरन्तर अभ्यास र अवसर पाए महिलाले जुनसुकै क्षेत्रमा सफलता हासिल गर्न सक्छन्। अहिले उनीहरूको उत्पादन काठमाडौँसहित देशका विभिन्न सहर, कोसेलीघर तथा विभिन्न सङ्घसंस्थामार्फत बिक्री हुने गरेको छ। विष्णुकुमारीको सफलताको अर्को महत्त्वपूर्ण आधार पिप्लेपोखरा सामुदायिक वन पनि हो। सामुदायिक वनले अहिले पनि आवश्यक कच्चा पदार्थ उपलब्ध गराउँदै आएको छ। वनले महिलालाई घाँस–दाउराको उपभोक्ताबाट हरित उद्यमी बनाउने अभियान सफलतापूर्वक सञ्चालन गरेको उनको अनुभव छ। पछिल्लो समय हेटौँडा उपमहानगरपालिकाको सहयोगले उद्यमलाई थप विस्तार गर्न सहज भएको विष्णुकुमारी बताउँछिन्। हेटौँडा उपमहानगरपालिकाले स्थानीय स्रोत, सीप र सम्भावनामा आधारित लघुउद्यम विकास कार्यक्रम सञ्चालन गरेपछि सयौँ महिलाको जीवनमा यस्तै परिवर्तन आएको छ। घरभित्र सीमित रहेका महिला अहिले आफ्नै उत्पादन बजारमा बिक्री गरिरहेका छन्, समूह सञ्चालन गरिरहेका छन् र परिवारको आर्थिक आधार बलियो बनाइरहेका छन्। उद्योग शाखाका अनुसार उपमहानगरपालिकाले हालसम्म आठ सयभन्दा बढी व्यक्तिलाई विभिन्न प्रकारका उद्यमशीलता तथा सीपमूलक तालिम प्रदान गरेको छ। तीमध्ये २६८ जना सक्रिय रूपमा उद्यम सञ्चालन गरिरहेका छन्। अधिकांश उद्यममा महिलाको उल्लेखनीय सहभागिता रहेको छ।
