SHARE
Samata Press · शनिबार २७ असार २०८३ ०२:५४ PM · 1 मिनेट पढाइ

गणेश नेपालीलाई शहिद घोषणा गरी परिवारलाई क्षतिपूर्ति दिन माग

काठमाडौं। मुगुको सोरु गाउँपालिका–१ का २६ वर्षीय गणेश नेपालीको आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएको घटनाप्रति स्वतन्त्र दलित नागरिक समाजले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। समाजका संयोजक कर्णबहादुर नेपालीद्वारा जारी विज्ञप्तिमा त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरमा आत्मदाहको प्रयास गरेका गणेश नेपालीको वीर अस्पतालमा उपचारका क्रममा भएको निधनले संगठन स्तब्ध भएको उल्लेख छ। उक्त घटनाले राज्यका नीति तथा व्यवस्थाका कारण एक होनहार युवा मृत्युको मुखमा पुग्न बाध्य भएको दाबी गरिएको छ।  नेपाल सरकारको सडक सुरक्षा नीति, बढ्दो बेरोजगारी, युवामा बढ्दो निराशा, अवसरको अभाव, प्रशासनिक झन्झट तथा भविष्यप्रतिको अन्योलले यस्तो अवस्था सिर्जना गरेको समाजको भनाइ छ। आफ्नै शरीरमा आगो लगाउन बाध्य हुने अवस्था सामान्य घटना नभई राज्यको गम्भीर असफलताको संकेत भएको विज्ञप्तिमा उल्लेख छ। स्वतन्त्र दलित नागरिक समाज नेपालले गणेश नेपालीलाई शहीद घोषणा गर्न, पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा मृतक परिवारको भविष्यको सुनिश्चितता गर्न सरकारसँग माग गरेको छ।