SHARE
Samata Press · शनिबार २७ असार २०८३ ०१:०६ PM · 1 मिनेट पढाइ

प्रताप दास र सङ्गम लामिछानेको ‘बोल्नै छोड्यौ मायालु’मा सुधीर-जिज्ञासाको रोमान्टिक केमेस्ट्री

काठमाडौँ । चर्चित गायक प्रताप दास र गायिका सङ्गम लामिछानेको स्वर रहेको नयाँ गीत ‘बोल्नै छोड्यौ मायालु’ सार्वजनिक भएको छ । सारङ्गी रोधी क्लबको ब्यानरमा निर्माण गरिएको म्युजिक भिडियो शुक्रवार गायिका सङ्गम लामिछानेको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । करिब १० मिनेट लामो म्युजिक भिडियोमा पछिल्लो पुस्ताका चर्चित मोडल सुधीर श्रेष्ठ र जिज्ञासा बरालको आकर्षक अभिनय तथा नृत्य प्रस्तुत गरिएको छ । भिडियोको निर्देशन सन्तोष राजवाहकले गरेका हुन् । गीतमा साजन पराजुलीको शब्द, मदन सुफिक्सको ध्वनि र सम्पादन तथा गोविन्द सोनीको मिक्सिङ तथा मास्टरिङ रहेको छ । भिडियोको सह निर्देशन तथा कोरियोग्राफी प्रवेश घटानीले गरेका छन् भने छायाङ्कन उत्सव दाहालको रहेको छ । म्युजिक भिडियोमा अभिनय गरेकी जिज्ञासा बरालले यो आफ्नो दसौँ म्युजिक भिडियो भए पनि नृत्यलाई प्रमुख रूपमा प्रस्तुत गरिएको पहिलो भिडियो भएको समता प्रेससँग बताइन् । यसअघिका भिडियोमा अभिनयमा मात्र केन्द्रित रहेकी उनले यस पटक नृत्य प्रस्तुत गर्ने अवसर पाएको भन्दै खुसी व्यक्त गरिन् । उनले गायिका सङ्गम लामिछाने आफ्नै कार्यस्थल दोहोरी साँझकी सञ्चालक भएकाले काम गर्न थप सहज भएको बताइन् । साथै, दर्शकले सारङ्गी रोधी क्लबका अघिल्ला प्रस्तुति जस्तै यस गीतलाई पनि माया गर्ने विश्वास व्यक्त गरिन् । बरालले मोडल सुधीर श्रेष्ठसँग पहिलो पटक सहकार्य गरेको उल्लेख गर्दै सुरुमा केही असहज लागे पनि छायाङ्कनका क्रममा निकै सहज वातावरण पाएको अनुभव सुनाइन् । आगामी दिनमा पनि यस्तै अवसर र दर्शकको साथ पाए अझ राम्रो काम गर्न प्रेरणा मिल्ने उनको भनाइ छ । सह–कोरियोग्राफर प्रवेश घटानीले हालसम्म करिब दुई दर्जन म्युजिक भिडियोमा कोरियोग्राफी गरिसकेको जानकारी दिँदै ‘बोल्नै छोड्यौ मायालु’मा विशेष मेहनत गरिएको बताए । उनले सार्वजनिक भएको छोटो समयमै भिडियोप्रति सकारात्मक प्रतिक्रिया आउन थालेको उल्लेख गर्दै दर्शकले पनि गीतलाई मन पराउने विश्वास व्यक्त गरे । लोक-आधुनिक शैलीमा तयार गरिएको ‘बोल्नै छोड्यौ मायालु’मा स्वर, अभिनय, नृत्य र दृश्य संयोजनको सन्तुलित प्रस्तुतिले दर्शकको ध्यान तान्ने अपेक्षा गरिएको गायिका एवम् सारङ्गी रोधी क्लबका सञ्चालक सङ्गम लामिछाने बताइन ।