SHARE
Samata Press · शनिबार २७ असार २०८३ १०:०१ AM · 1 मिनेट पढाइ

नागरिकले आफ्नो पीडा व्यक्त गर्न जीवन नै दाउमा लगाउनुपर्ने अवस्था सामान्य हुनै सक्दैन : सांसद सेञ्चुरी

काठमाडौँ। सत्तारुढ रास्वपाकी सांसद स्मृति सेञ्चुरीले गणेश नेपालीको आत्मदाहले दुख व्यक्त गर्दै नागरिकले आफ्ना गुनासा र पीडा व्यक्त गर्न जीवन नै दाउमा लगाउनुपर्ने अवस्था फेरि दोहोरिन नहुने बताएकी छन्। शनिबार सामाजिक सञ्जालमा धारणा राख्दै उनले गणेश नेपालीको आत्मदाहको दुःखद घटनाले मन अत्यन्तै स्तब्ध, मर्माहत र भारी बनाएको उल्लेख गरेकी छन्। 'एउटा नागरिक आफ्नो पीडा, निराशा र गुनासो व्यक्त गर्ने अन्तिम माध्यमका रूपमा आफ्नै जीवन समाप्त गर्न बाध्य हुनु कुनै सामान्य घटना होइन। यो हामी सबैका लागि गम्भीर आत्मसमीक्षाको विषय हो,' उनले भनेकी छन्। उनले अघि भनेकी छन्, 'आज गणेश नेपालीको परिवारले भोगिरहेको पीडा शब्दमा व्यक्त गर्न सकिने खालको छैन। एक छोराको, एक श्रीमानको, एक बुबाको र एक र एक नागरिकको असामयिक बिदाइले सिर्जना गरेको रिक्तता कसैले पूर्ति गर्न सक्दैन। यस दुःखद घडीमा दिवंगत गणेश नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।' सांसद सेञ्चुरीले यो घटना केवल एउटा व्यक्तिको मृत्युमा सीमित नभएकी बताएकी छन्। 'यसले हाम्रो राज्य व्यवस्था, समाज र जिम्मेवार निकायहरूसामु धेरै प्रश्नहरू खडा गरेको छ। नागरिकको आवाज समयमै सुनिने, पीडा सम्बोधन हुने र न्यायको अनुभूति हुने वातावरण निर्माण गर्नु राज्यको दायित्व हो। कुनै पनि नागरिकले आफ्ना गुनासा र पीडा व्यक्त गर्न जीवन नै दाउमा लगाउनुपर्ने अवस्था फेरि नदोहोरियोस् भन्ने अपेक्षा गर्दछु,' उनले भनेकी छन्।