SHARE
Samata Press · शनिबार २७ असार २०८३ १०:४४ AM · 1 मिनेट पढाइ

मधेसी भएकै कारण फिल्मको सेटमा विभेद भोगेको कलाकार काजल कर्णको आरोप, उशा रजकको साथ

काठमाडौँ । कलाकार काजल कर्णले नेपाली फिल्म उद्योगभित्र मधेसी कलाकारमाथि विभेद, अपमान र दुर्व्यवहार हुने गरेको गम्भीर आरोप लगाएकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत लामो स्ट्याटस सार्वजनिक गर्दै उनले फिल्म ‘चिरञ्जीवी भव:’ को छायाङ्कनका क्रममा आफूले मधेसी भएकै कारण मानसिक यातना, अपमान र विभेदपूर्ण व्यवहार भोग्नुपरेको दाबी गरेकी हुन् । कर्णले बाल्यकालदेखि अभिनय क्षेत्रमा सफल कलाकार बन्ने सपना बोकेर सङ्घर्ष गर्दै आएको उल्लेख गर्दै हालसम्म ३५० भन्दा बढी थारु, भोजपुरी, मैथिली र नेपाली गीतमा अभिनय गरिसकेको बताएकी छन् । हरिवंश आचार्य, करिश्मा मानन्धरलगायत वरिष्ठ कलाकारसँग एउटै फिल्ममा काम गर्ने अवसर पाउँदा उत्साहित भए पनि फिल्मको सेटमा पुगेपछि आफूले अपेक्षा विपरीत व्यवहार भोग्नुपरेको उनको भनाइ छ । उनका अनुसार फिल्ममा अनुबन्धित भएपछि सुरुबाटै विभिन्न प्रकारका असहज व्यवहार गरिएको थियो । डिजाइनरले पोसाकको नाप लिएपछि पनि आफ्नै लुगा व्यवस्था गर्न भनिएको, सुटिङका लागि गाडी पठाउने प्रतिबद्धता पूरा नगरिएको र आफैँ खर्च गरेर सेटमा पुग्न बाध्य बनाइएको उनले उल्लेख गरेकी छन् । इटहरीमा छायाङ्कनका क्रममा मेकअप रुममा प्रवेश गर्दा आफूलाई अपमानजनक व्यवहार गरिएको, प्रमुख अभिनेत्रीको मेकअप भइरहेको भन्दै एउटै कोठामा बस्न नदिइएको तथा सहायक निर्देशकले समेत हप्काएको आरोप उनले लगाएकी छन् । त्यसभन्दा पनि गम्भीर रूपमा उनले मेकअप कलाकारले आफूलाई जानाजानी कालो मेकअप लगाएको र ‘तिमी त तराईको मान्छे, गाई–भैँसी हेर्ने पात्र हौ’ भन्दै अपमानजनक टिप्पणी गरेको दाबी गरेकी छन् । आफूलाई ‘मधेसी’, ‘मधेसेनी’ जस्ता शब्द प्रयोग गर्दै बारम्बार होच्याइएको र आफ्नो पहिचानकै उपहास गरिएको उनको भनाइ छ । कर्णले स्क्रिप्टमा उल्लेख नभएका फोहोर उठाउने र कुचो लगाउने दृश्य जबरजस्ती गराइएको, कलाकारको सट्टा मजदुरसरह व्यवहार गरिएको र दुई दिनसम्म यस्तै काममा प्रयोग गरिएको आरोप पनि लगाएकी छन् । उनका अनुसार आफूले पारिश्रमिक र पोसाक खर्चको विषय उठाएपछि कार्यकारी निर्माता शैलेश खत्रीले भुक्तानी दिने भन्दै इटहरी बोलाए पनि त्यहाँ पुग्दा आफ्नो स्थानमा अर्कै कलाकारलाई अभिनय गराइँदै थियो । निर्देशक दीपकप्रसाद आचार्यको निर्देशनमा कुनै जानकारी नदिई आफूलाई फिल्मबाट हटाइएको जानकारी त्यहीँ पुगेपछि मात्र पाएको उनले उल्लेख गरेकी छन् । भुक्तानी माग्दा ‘अझै डबिङ बाँकी छ’ भन्दै पूर्ण रकम दिन अस्वीकार गरिएको र अन्ततः आफूलाई केवल पोसाक लिन बोलाइएको बताइएको भन्दै उनले त्यसलाई थप अपमानको रूपमा चित्रण गरेकी छन्। कर्णले यो घटना केवल आफ्नो व्यक्तिगत पीडा नभई नेपाली फिल्म उद्योगभित्र मधेसी कलाकारले भोग्नुपरेको संरचनागत विभेदको उदाहरण भएको दाबी गरेकी छन् । उनले मधेसका महिलाले समाजका अनेक बाधा पार गरेर फिल्म क्षेत्रमा प्रवेश गर्दा पनि पहिचानकै आधारमा अपमानित हुनुपर्ने अवस्था अन्त्य हुनुपर्नेमा जोड दिएकी छन् ।