महिनावारीलाई सम्मानजनक बनाउन संघदेखि स्थानीय तहसम्म समन्वय संयन्त्र बनाइँदै
काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले मर्यादित महिनावारी प्रवर्द्धन, महिनावारीसम्बन्धी विभेद अन्त्य तथा महिला र किशोरीको सम्मानजनक जीवन सुनिश्चित गर्न सरकारले राष्ट्रिय कार्यविधि निर्माणलाई अन्तिम चरणमा पुर्याएको बताएकी छन् । राष्ट्रिय सभाको बैठकमा मन्त्रालयको कार्यक्षेत्रसँग सम्बन्धित सांसदको प्रश्नको जवाफ दिँदै उनले महिनावारी महिला तथा किशोरीमा हुने प्राकृतिक तथा जैविक प्रक्रिया भए पनि यससँग जोडिएका अन्धविश्वास, छाउपडी प्रथा, सामाजिक तथा धार्मिक विभेदजस्ता हानिकारक अभ्यास अन्त्य गर्न मन्त्रालयले आवश्यक नीतिगत तथा कार्यक्रमगत पहल गरिरहेको जानकारी दिइन् । उनले मर्यादित महिनावारी भन्नाले महिनावारीलाई सामान्य प्राकृतिक प्रक्रियाका रूपमा स्वीकार गर्दै त्यससँग सम्बन्धित सबै प्रकारका विभेद, हिंसा र अवैज्ञानिक मान्यताको अन्त्य भएको अवस्था बुझिने स्पष्ट पारिन् । मन्त्री बादीका अनुसार महिला तथा किशोरीमाथि हुने महिनावारीसम्बन्धी विभेद र हिंसा न्यूनीकरणका लागि मन्त्रालयले मर्यादित महिनावारी प्रवर्द्धनसम्बन्धी राष्ट्रिय कार्यविधिको मस्यौदा तयार गरिसकेको छ । कार्यविधिमा संघ, प्रदेश र स्थानीय तहमा समन्वय तथा अनुगमन संयन्त्र निर्माण गर्ने, प्रवर्द्धनात्मक, निरोधात्मक, संरक्षणात्मक तथा उपचारात्मक कार्यक्रम सञ्चालन गर्ने, स्थानीय तहका गतिविधिको तथ्याङ्क संकलन तथा अनुगमन गर्ने तथा अभियानमुखी कार्यक्रम सञ्चालन गर्ने व्यवस्था समेटिएको उनले जानकारी दिइन् । उनका अनुसार कार्यविधिको मस्यौदामाथि प्रदेशस्तरमा आवश्यक छलफल सम्पन्न भइसकेको छ भने प्राप्त सुझाव समेटेर त्यसलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाइएको छ । मन्त्री बादीले सामाजिक कुरीति अन्त्य र जनचेतना अभिवृद्धिका लागि मन्त्रालयले प्रदेश तथा स्थानीय तहसँगको समन्वयमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताइन् । साथै राष्ट्रिय सञ्चार माध्यममार्फत पनि नियमित रूपमा जनचेतनामूलक सन्देश प्रसारण भइरहेको जानकारी दिइन् । उनले चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा मर्यादित महिनावारी प्रवर्द्धनसम्बन्धी विशेष कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्दै आगामी दिनमा प्रदेश सरकार, स्थानीय तह तथा यस क्षेत्रमा क्रियाशील सामाजिक संघसंस्थासँग सहकार्य गरी अभियानलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरिन् । राष्ट्रिय सभामा मन्त्री बादीले मन्त्रालयको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा जवाफ दिँदै महिनावारीसम्बन्धी विभेद अन्त्य, सम्मानजनक व्यवहारको सुनिश्चितता तथा महिला र किशोरीको अधिकार संरक्षणका लागि सरकारले नीतिगत, कानुनी र कार्यक्रमगत सुधारलाई निरन्तर अघि बढाइरहेको बताइन् ।
