SHARE
Samata Press · शुक्रबार​ २६ असार २०८३ ११:४१ PM · 1 मिनेट पढाइ

गणेश नेपालीको आत्मदाह प्रति नेकपाको दुःख व्यक्त, निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले मुगुको सोरूँ गाउँपालिका-१ घर भई काठमाडौँमा रोजगारीका क्रममा बस्दै आएका २५ वर्षीय गणेश नेपालीको आत्मदाह पछि भएको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै दिवङ्गत गणेश नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ । लोकतान्त्रिक मुलुकमा नागरिक आत्मदाह गर्न बाध्य हुनु राज्यको चरित्र र लोकतान्त्रिक अभ्यासमाथिको गम्भीर प्रश्न भएको नेकपाको भनाइ छ । नेकपाले आत्मदाहको प्रयासपछि पनि गणेश नेपालीप्रति राज्यका निकायले मानवीय व्यवहार नगरेको आरोप लगाएको छ । विज्ञप्तिमा उनको जीवन बचाउन संवेदनशील ढङ्गले पहल गर्नुको सट्टा बल प्रयोग गर्ने, जरिवानाको दबाब दिने, धम्क्याउने, घिसारेर हिँडाउने तथा निधनपछि पनि घटनाको वास्तविकता सार्वजनिक नगरेको आरोप लगाउँदै यस्तो व्यवहारलाई अमानवीय, दुःखद र निन्दनीय भनेको छ । पार्टीले राज्य र आम नागरिकबिचको अपनत्व कमजोर बन्दै गएको तथा नागरिकका पीडा, संवेदना र आवाज राज्यले बेवास्ता गर्दा गणेश नेपालीजस्ता युवा आत्मदाह जस्तो चरम कदम चाल्न बाध्य भएको उल्लेख गरेको छ । साथै हजारौँ सुकुम्वासी, भूमिहीन, श्रमिक र विपन्न नागरिक मर्नु न बाँच्नुको अवस्थाबाट गुज्रिरहेको पनि विज्ञप्तिमा उल्लेख छ । नेकपाले संविधानले प्रत्याभूत गरेको सम्मानपूर्वक बाँच्न पाउने अधिकार, सुरक्षा, रोजगारी र सामाजिक न्याय सुनिश्चित गर्नु राज्यको पहिलो दायित्व भएको स्मरण गराउँदै विकास र व्यवस्थापनका नाममा गरिब, श्रमिक, सुकुम्वासी, दलित, जनजाति, मधेसी, थारु तथा बेरोजगार युवामाथि दमन र अपमान गर्ने प्रवृत्ति बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरेको छ । सरकारलाई धरातलीय यथार्थप्रति संवेदनशील बन्न आग्रह गर्दै पार्टीले विशेष गरी बेरोजगार युवा, भूमिहीन, सुकुम्वासी, मिटरब्याजपीडित तथा अन्य उत्पीडित समुदायका समस्या तत्काल मानवीय, न्यायोचित र संवेदनशील ढङ्गले सम्बोधन गर्न माग गरेको छ । साथै, गणेश नेपालीको आत्मदाह र निधनसँग सम्बन्धित घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न, पीडित परिवारलाई उचित राहत, क्षतिपूर्ति र न्याय उपलब्ध गराउन पनि नेकपाले सरकारसँग जोडदार माग गरेको छ ।