SHARE
Samata Press · शनिबार २७ असार २०८३ १२:२६ AM · 1 मिनेट पढाइ

गणेश नेपालीको निधनप्रति काठमाडौँ महानगरपालिका स्तब्ध, परिवारलाई रोजगारी र निःशुल्क शिक्षाको घोषणा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राहदानी विभाग अगाडि आत्म दाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा भएको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै घटनाको निष्पक्ष छानबिनमा पूर्ण सहयोग गर्ने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरद्वारा जारी विज्ञप्तिअनुसार गणेश नेपालीले असार २५ गते बिहीबार राहदानी विभाग अगाडि आत्म दाहको प्रयास गरेका थिए । उपचारकै क्रममा उनको निधन भएपछि महानगरपालिका स्तब्ध भएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा गृह मन्त्रालयले घटनाको निष्पक्ष छानबिनका लागि समिति गठन गर्ने निर्णय गरेको जानकारी सञ्चारमाध्यमबाट प्राप्त भएको उल्लेख गर्दै महानगरपालिकाले उक्त समितिलाई तथ्यगत छानबिनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । साथै, छानबिनबाट प्राप्त सुझावका आधारमा आवश्यक सुधारात्मक तथा जिम्मेवारीपूर्ण कदम चालिने पनि महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले नेपाल सरकारसँग समन्वय र सहकार्य गर्दै यस्ता घटना पुनः दोहोरिन नदिन तथा असल अभ्यास विकास गरी कार्यान्वयनमा लैजान तयार रहेको बताएको छ । संवेदनशील परिस्थितिमा सबैलाई संयमित र धैर्यवान् बन्न अपिलसमेत गरिएको छ । यसैबिच, दिवङ्गत गणेश नेपालीका परिवारलाई काठमाडौँ महानगरपालिकाको तर्फबाट मानवीय सहयोग, रोजगारी उपलब्ध गराउने तथा उनका सन्ततिलाई निःशुल्क शिक्षा प्रदान गर्ने विषयमा विधिसम्मत रूपमा कार्यपालिका बैठकबाट निर्णय गरिने महानगरपालिकाले जनाएको छ ।