विप्लवलाई अर्को ठुलो धक्का, सचिवालय सदस्य ‘शिलु’को नेतृत्वमा पुनः ब्युँतियो नेकपा
काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी)मा विभाजन तीव्र भइरहेका बेला सचिवालय सदस्य उमा भुजेल ‘शिलु’को नेतृत्वमा पुनः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ब्युँताइएको छ । विगतमा विभिन्न माओवादी घटक, विशेष गरी विप्लव नेतृत्वको नेकपा (माओवादी)मा जिम्मेवारी सम्हाल्दै आएका नेताको संयुक्त बैठकले शिलुको संयोजकत्वमा ९१ सदस्यीय राष्ट्रिय भेला आयोजक समिति गठन गरेको हो । समितिले आगामी २०८३ भदौ मसान्तभित्र राष्ट्रिय भेला सम्पन्न गर्ने निर्णयसमेत गरेको छ । नवगठित आयोजक समितिले जारी गरेको प्रेस विज्ञप्तिमा नेपालमा राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकामाथि गम्भीर सङ्कट आएको दाबी गर्दै वर्तमान राजनीतिक परिस्थितिले कम्युनिस्ट आन्दोलनलाई नयाँ ढङ्गले पुनर्गठन गर्नुपर्ने आवश्यकता सिर्जना गरेको उल्लेख गरेको छ । विज्ञप्तिमा विश्व शक्ति राष्ट्रको हस्तक्षेप, नेपालको भू-राजनीतिक अवस्थिति र प्राकृतिक स्रोतसाधनमाथिको प्रतिस्पर्धाका कारण राष्ट्रिय स्वाधीनता इतिहासकै सबैभन्दा सङ्कटपूर्ण अवस्थामा पुगेको दाबी गरिएको छ । साथै सीमित व्यक्तिको कमजोरीका आधारमा समग्र कम्युनिस्ट आन्दोलन र जनयुद्धलाई बदनाम गर्ने प्रयास भइरहेको आरोप पनि लगाइएको छ । समितिले वर्तमान सरकारलाई ‘निर्वाचित निरङ्कुश तथा फासिवादी बाटोमा अग्रसर’ भएको आरोप लगाउँदै सुकुम्वासीमाथि दमन, गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता, समावेशिता तथा ट्रेड युनियन अधिकारमाथि हस्तक्षेप भएको दाबी गरेको छ । किसान र श्रमजीवी विरोधी बजेट ल्याइएको तथा मुलुकलाई अत्यधिक ऋणको भारमा धकेलिएको आरोपसमेत विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा विगतमा सरकारको नेतृत्व गरेका कम्युनिस्ट दल जनअपेक्षा पूरा गर्न असफल भएको स्वीकार गर्दै संसदीय राजनीतिमा सहभागी कम्युनिस्ट र संसदीय व्यवस्थाबाहिर सङ्घर्षरत माओवादी दुवै धाराले अपेक्षित उपलब्धि दिन नसकेको निष्कर्ष निकालिएको छ । त्यसैले दुवै पक्षले गम्भीर आत्म समीक्षा गर्दै रूपान्तरणसहितको एकता र पुनर्गठनमा जानुपर्ने आवश्यकता औँल्याइएको छ । नयाँ समितिले पहिलो चरणमा माओवादी धारबिच रूपान्तरणसहितको एकता गर्दै सम्पूर्ण नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्ने, त्यसपछि कम्युनिस्ट, देशभक्त तथा लोकतन्त्रवादी–गणतन्त्रवादी शक्तिबिच संयुक्त मोर्चा निर्माण गर्ने लक्ष्य अघि सारेको छ । त्यसै गरी राष्ट्रिय स्वाधीनताको रक्षा, वर्तमान सरकारका राष्ट्र विरोधी तथा जनविरोधी गतिविधिविरुद्ध सङ्घर्ष, विगतका राजनीतिक उपलब्धिको संरक्षण, समाजवादी विचारको विस्तार तथा जनयुद्ध र एकीकृत जनक्रान्तिका शहीद तथा बेपत्ता योद्धाको सपना पूरा गर्ने उद्देश्यसहित आन्दोलन अघि बढाइने समितिले जनाएको छ । संयोजक उमा भुजेल ‘शिलु’ले जारी गरेको विज्ञप्तिमा आगामी राष्ट्रिय भेलालाई सफल बनाउन सम्पूर्ण देशभक्त तथा न्याय प्रेमी नागरिकसँग सहयोगको अपिल गरिएको छ । विप्लव नेतृत्वको नेकपा (माओवादी) बाट पछिल्ला दिनमा सचिवालय सदस्य शिलुसहित सयौँ नेता–कार्यकर्ताले पार्टी परित्याग गरिसकेका छन् । यद्यपि, विप्लव नेतृत्वले भने पार्टी छाड्ने नेतामाथि कारबाही गरिएको भन्दै निरन्तर विज्ञप्ति जारी गर्दै आएको छ । यस्तो अवस्थामा नयाँ नेकपाको घोषणा माओवादी धाराभित्रको ध्रुवीकरण र पुनर्गठनको अर्को महत्त्वपूर्ण राजनीतिक घटनाक्रमका रूपमा हेरिएको छ ।
