SHARE
Samata Press · शुक्रबार​ २६ असार २०८३ ०३:५७ PM · 1 मिनेट पढाइ

गणेश नेपालीको आत्मदाह प्रकरणमा रक्षा बमको आरोप- ‘बालेनले रोपेको अमानवीय प्रवृत्तिको परिणाम’

काठमाडौँ । जेनजी अभियन्ता रक्षा बमले गणेश नेपालीको आत्मदाहको घटनालाई लिएर काठमाडौं महानगरपालिका र तत्कालिन मेयर बालेन शाहको कार्यशैलीमाथि कडा आलोचना गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले गणेश नेपाली आत्मदाह गर्नुपर्ने अवस्था आउनु बालेन शाह मेयर हुँदा महानगर प्रहरीमा संस्थागत रूपमा विकास भएको अमानवीय, असंवेदनशील र कठोर कार्यशैलीको परिणाम भएको दाबी गरेकी छन् । रक्षा बमले बालेन नेतृत्वको महानगरले सडक व्यापारी, गरिब तथा सुकुम्बासीमाथि निरन्तर कठोर व्यवहार गरेको आरोप लगाउँदै मेयर शाहले ती विषयलाई मानवीय दृष्टिकोणबाट कहिल्यै नहेरेको टिप्पणी गरेकी छन् । अहिले पनि त्यही शैली झनै सशक्त रूपमा अघि बढिरहेको उनको दाबी छ । उनले मेयर पदका लागि चुनावी अभियानका क्रममा सडक व्यापारी व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका बालेन शाह महानगरको नेतृत्वमा पुगेपछि गरिबमाथि कठोर नीति अवलम्बन गरेको आरोप लगाएकी छन् । 'चमेली अभियान' तथा अभियन्ता ‘ईः’ ले सञ्चालन गरेको आन्दोलनपछि र अदालतको हस्तक्षेपका कारण मात्रै महानगर आफ्नो शैलीमा केही पछि हटेको उनको भनाइ छ । रक्षा बमले महानगरमा विकास गरिएको यही कार्यशैली कर्णालीमा सडक किनारमा काफल बेच्ने महिलामाथिको व्यवहारदेखि वन कर्मचारीको भेषमा गरिबको अटो पल्टाइएका घटनासम्म देखिएको दाबी गरेकी छन् । समाजको एउटा ठूलो वर्गले यस्ता गतिविधिलाई समर्थन गरिरहेसम्म यस्ता घटना दोहोरिने उनको भनाइ छ । उनले गणेश नेपालीको मृत्युबारे दोष अन्यत्र मोड्ने प्रयास भइरहेको आरोपसमेत लगाएकी छन् । सरकारमाथि आलोचना बढेपछि नयाँ-नयाँ विवाद सिर्जना गरेर जनध्यान मोड्ने प्रयास हुने गरेको दाबी गर्दै थापाथली सुकुम्बासी बस्तीमा डोजर चलाइएको घटना र त्यसपछिका राजनीतिक घटनाक्रमलाई उदाहरणका रूपमा उल्लेख गरेकी छन् । रक्षा बमले बालेन शाहले आफ्नो कार्यशैली परिवर्तन नगरेसम्म र उनका समर्थकले त्यसको आलोचनात्मक समीक्षा नगरेसम्म यस्ता घटना दोहोरिने दाबी गर्दै अन्त्यमा 'गणेशहरू मरिरहन्छन्' भन्ने टिप्पणी गरेकी छन् । साथै उनले गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै 'अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर' भन्ने भाव व्यक्त गरेकी छन् ।