जलाउनेहरू नै सिंहदरबार पसेपछि जनता जलाउन थाले : सांसद पोर्तेल
काठमाडौँ । राष्ट्रिय सभा सदस्य सोमनाथ पोर्तेलले सिंहदरबार जलाउनेहरूले सिंहदरबार पसेपछि जनता जलाउन थालेको आरोप लगाएका छन् । राष्ट्रिय सभाको शुक्रबारको बैठकको आकस्मिक समयमा बोल्दै उनले मुगुका गणेश नेपालीको आत्मदाह घटनातर्फ ईंगित गर्दै सरकारमाथि टिप्पणी गरेका हुन् । ‘सिंहदरबार जलाउनेहरू सिंहदरबार पसेपछि जनता जलाउन थालेका छन्,’ सांसद पोर्तेलले भने, ‘आज जनताले दिनदहाडै जलेर मर्नुपर्ने परिस्थिति निर्माण भएको छ । यसको म घोर निन्दा र भत्र्सना गर्न चाहन्छु ।’ सांसद पोर्तेलले आगोले डढेका नेपालीको उद्दारका क्रममा प्रहरीले लछार–पछार गरेको भन्दै आपत्ति पनि जनाए । ‘घाइतेलाई जुन ढंगले प्रहरीले लछान–पछार गर्दै गाडीमा राखेर अस्पताल लैजाने काम भयो,’ उनले भने, ‘त्यो हृदयविदारक र आततायी घटना छ । म यसको निन्दा गर्न चाहन्छु ।’ जरिबाना तिर्न नसकेको भन्दै प्रहरीले कमाउने साधन लुटेर लगेपछि नेपालीले शरीरमा पेट्रोल छर्किएर आगो लगाउनुपर्ने परिस्थिति निर्माण भएको पोर्तेलको दाबी थियो । ‘प्रहरीले उनलाई १० हजार रुपैयाँ जरिबाना तोक्यो । त्यो जरिबाना तिर्ने उनीसँग पैसा भएन । पैसा नभएका कारण उनले मसँग पैसा छैन भनेर प्रहरीसँग अनुरोध गर्दा मोटरसाइकल प्रहरीले उठाएर लैजाने जुन परिस्थिति निर्माण भयो, त्यसबाट उनी विक्षिप्त भए,’ उनले भने, ‘आफूसँग पैसा छैन, आफूले कमाउने साधन प्रहरीले लुटेर लाँदैछ, त्यो परिस्थितिमा भरे बेलुकाको छाक टार्न नसकने एउटा नागरिकले आफ्नो शरीरमा पेट्रोल छर्किएर आयो लगाउनुपर्ने परिस्थिति निर्माण भएको छ ।
