SHARE
Samata Press · शुक्रबार​ २६ असार २०८३ १२:१० PM · 1 मिनेट पढाइ

पाँच लाखदेखि १० लाख रुपैयाँसम्म तलब बक्यौता, खबर पोस्ट र क्लिक नेपालका पत्रकार सडकमा

काठमाडौँ । फ्रन्टलाइन डिजिटल नेटवर्क प्रालिमा कार्यरत श्रमजीवी पत्रकार तथा कर्मचारीले लामो समयदेखि बक्यौता पारिश्रमिक नपाएको भन्दै कम्पनीविरुद्ध आन्दोलन सुरु गरेका छन् । कम्पनीद्वारा सञ्चालित खबर पोस्ट डटकम र क्लिक नेपाल डटकममा कार्यरत पत्रकार तथा कर्मचारीले २४ देखि ३२ महिनासम्मको तलब नपाएको दाबी गर्दै आन्दोलनमा उत्रिएका हुन् । श्रमजीवी पत्रकार सङ्घ नेपालको नेतृत्वमा काठमाडौँको अनामनगरस्थित कम्पनी कार्यालयअगाडि पछिल्ला चार दिनदेखि धर्ना तथा प्रदर्शन जारी छ । आन्दोलनकारीले हातमा प्लेकार्ड बोकेर आफूहरूले गरेको श्रमको उचित मूल्य तत्काल उपलब्ध गराउन माग गरेका छन् । पीडित पत्रकारका अनुसार केही कर्मचारीको ३० महिनाभन्दा बढी र कतिपयको ३२ महिनासम्मको तलब रोकिएको छ । बक्यौता रकम कर्मचारीअनुसार करिब पाँच लाखदेखि १० लाख रुपैयाँसम्म पुगेको उनीहरूको दाबी छ । नियमित पारिश्रमिक नपाउँदा घर भाडा, बालबालिकाको शिक्षा, स्वास्थ्य उपचार तथा दैनिक जीवनयापनसमेत प्रभावित भएको उनीहरूले बताएका छन् । पत्रकारले कम्पनी व्यवस्थापनले पटक–पटक एकमुष्ट तलब दिने र भविष्यमा थप सेवा-सुविधा उपलब्ध गराउने आश्वासन दिए पनि व्यवहारमा कुनै प्रतिबद्धता पूरा नगरेको आरोप लगाएका छन् । तलब आउने आशामै आफन्त तथा साथीभाइसँग ऋण लिएर काठमाडौँको महँगीमा गुजारा चलाउनुपरेको उनीहरूको भनाइ छ । फ्रन्टलाइन डिजिटल नेटवर्क प्रालिको अध्यक्ष रेनुका गिरी छन् । पत्रकारको आरोपअनुसार कम्पनीको कार्यकारी भूमिका भने उनका श्रीमान् वसन्त वनले सम्हाल्दै आएका छन् । वन साङ्ग्रिला माइक्रो सिस्टम प्रालि, साङ्ग्रिला इन्फरम्याटिक्स र जिओ सफ्ट टेक्नोलोजी प्रालिका सञ्चालकसमेत हुन् । पीडित पत्रकारले श्रम अधिकार सुनिश्चित गरिदिन सूचना तथा सञ्चार विभाग, नेपाल पत्रकार महासङ्घ तथा नेपाल श्रमजीवी पत्रकार सङ्घलगायत निकायमा पटक-पटक निवेदन दिएका थिए । उनीहरूका अनुसार २०८२ असोजको पहिलो सातामै सूचना तथा सञ्चार विभागमा उजुरी दर्ता गरिएको थियो । विभागले कम्पनी व्यवस्थापनलाई छलफलका लागि पत्राचार गरे पनि व्यवस्थापन उपस्थित नभएको दाबी गरिएको छ । नेपाल पत्रकार महासङ्घले समेत पटक-पटक पहल गरे पनि समस्या समाधान हुन नसकेको उनीहरूको भनाइ छ । श्रमजीवी पत्रकार सङ्घ नेपालका अध्यक्ष जन्मदेव जैसीले कम्पनी व्यवस्थापनसँग भएको पछिल्लो वार्तासमेत निष्कर्षविहीन बनेको जानकारी दिए । उनका अनुसार अब आन्दोलनलाई थप सशक्त बनाइनेछ । उनले श्रम ऐन तथा श्रमजीवी पत्रकारसम्बन्धी कानुनी व्यवस्थाअनुसार तलब नदिनु गम्भीर श्रम शोषण भएको उल्लेख गर्दै पीडित पत्रकारलाई तत्काल बक्यौता पारिश्रमिक उपलब्ध गराउन माग गरे । यदि समस्या समाधान नभए कम्पनी सञ्चालकको घर घेराउदेखि कार्यालयमा तालाबन्दीसम्मका आन्दोलनका कार्यक्रम अघि बढाइने उनले चेतावनी दिए । आन्दोलनरत कर्मचारीले पारिश्रमिक माग्दा कम्पनी व्यवस्थापनबाट सकारात्मक प्रतिक्रिया आउनुको सट्टा प्रहरी बोलाएर पक्राउ गराइदिने धम्कीसमेत दिएको आरोप लगाएका छन् । एक महिला कर्मचारीले आफ्नो श्रमको मूल्य माग्दा उल्टै धम्की सहनुपरेको बताइन् भने अर्का कर्मचारीले श्रमिकको अधिकार संरक्षणका लागि सम्बन्धित निकाय तत्काल सक्रिय हुनुपर्ने माग गरे । आन्दोलनकारीका अनुसार कम्पनीको मिडिया तथा आईटी व्यवसायमा करिब ३० जना कर्मचारी कार्यरत छन् । उनीहरूले आफूहरू कुनै राजनीतिक उद्देश्यले नभई श्रमको उचित मूल्य र कानुनी अधिकार सुनिश्चित गराउन आन्दोलनमा उत्रिएको बताएका छन् । यद्यपि, समाचार तयार पार्दासम्म यस विषयमा कम्पनी व्यवस्थापनको आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन ।