सुकुम्बासी प्रकरणमा आफ्नै सरकारप्रति रञ्जु दर्शनाको असन्तुष्टि-'पिँधमा रहेका गरिबको रोदन रोक्नुस्'
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की केन्द्रीय सदस्य तथा सांसद रञ्जु दर्शनाले सुकुम्बासी व्यवस्थापनको विषयमा सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै गणेश नेपालीको आत्मदाहको घटनालाई गम्भीर रूपमा लिएर आत्मसमीक्षा गर्न सरकारलाई आग्रह गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले रोग, शोक र भोकबाट बगेका आँसु कहिल्यै झुटा नहुने उल्लेख गर्दै सुकुम्बासी व्यवस्थापनका क्रममा सरकारको तर्फबाट काम सही ढंगले हुन नसकेको टिप्पणी गरेकी छन् । उनले सरकारको १०० दिने कार्यसूचि अन्तर्गत सुकुम्बासी व्यवस्थापनको विषयमा दुध चुसाइरहेका आमा, सुत्केरी, ज्येष्ठ नागरिकलगायत संवेदनशील समूहप्रति समान व्यवहार नगर्न आग्रह गर्दै आफूले संसद र सम्बन्धित निकायमा पटक-पटक आवाज उठाएको उल्लेख गरेकी छन् । सांसद दर्शनाले आत्मदाह गरेका गणेश नेपालीको उपचार खर्च सरकारले व्यहोर्नु मात्र पर्याप्त नहुने बताउँदै उनी किन आफूलाई जलाउने अवस्थासम्म पुगे भन्ने विषयको गहिरो अध्ययन गर्नुपर्नेमा जोड दिएकी छन् । त्यसबाट प्राप्त निष्कर्षलाई सरकारको नीति निर्माणमा प्रयोग गर्नुपर्ने उनको भनाइ छ । उनले गणेश नेपालीले मात्र शारीरिक रूपमा आफूलाई जलाएको नभई हरेक दिन ‘मैले सकिन, मरौँ कि क्या हो’ भन्ने मानसिक अवस्थाबाट गुज्रिरहेका लाखौँ युवाका लागि जीवन सहज बनाउने नीति आवश्यक रहेको उल्लेख गरेकी छन् । दर्शनाले यस्तो निराशा कमजोर मनोबलको परिणाम मात्र नभई सामाजिक तथा आर्थिक संरचनाबाट सिर्जित यथार्थ भएको बताएकी छन् । मनोपरामर्श मात्र समाधान नभई नागरिकका आधारभूत आवश्यकता पूरा गर्ने नीति नै मानसिक सुरक्षाको प्रमुख आधार हुने उनको धारणा छ । साथै उनले १०० दिनमै आमूल परिवर्तन वा लाखौँ रोजगारी सिर्जना सम्भव नभए पनि त्यसको आधार तयार गर्न सकिने उल्लेख गर्दै सरकारले विशेषगरी समाजको पिँधमा रहेका श्रमजीवी र गरिब नागरिकको पीडा कम गर्ने कामलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएकी छन् । अन्त्यमा उनले आफ्नो यो धारणा सामाजिक सञ्जालको अभिलेखमा पनि रहोस् भन्ने अपेक्षासहित सरकारको ध्यानाकर्षण गराएकी छन् ।
