SHARE
Samata Press · शुक्रबार​ २६ असार २०८३ ११:१२ AM · 1 मिनेट पढाइ

आत्मदाह प्रयास घटनाको निष्पक्ष छानबिन गर्न स्वतन्त्र दलित नागरिक समाजको माग

काठमाडौँ। स्वतन्त्र दलित नागरिक समाज नेपालले त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरमा मुगुको सोरु गाउँपालिका–१ का २६ वर्षीय गणेश नेपालीले गरेको आत्मदाह प्रयासप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। समाजका संयोजक कर्णबहादुर नेपालीद्वारा शुक्रबार जारी विज्ञप्तिमा गम्भीर रूपमा घाइते गणेश नेपाली हाल वीर अस्पतालमा उपचाररत रहेको उल्लेख गर्दै उनको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। साथै, उनी र उनको परिवारप्रति हार्दिक सहानुभूति व्यक्त गरिएको छ। विज्ञप्तिमा कुनै पनि युवाले आफ्नै शरीरमा आगो लगाउन बाध्य हुने अवस्था सामान्य घटना नभई राज्य, समाज र सम्बन्धित निकायको गम्भीर असफलताको संकेत भएको उल्लेख गरिएको छ। शिक्षित युवाले अवसरको अभाव, बेरोजगारी, प्रशासनिक झन्झट र भविष्यप्रतिको निराशाका कारण यस्तो कठोर निर्णय लिनुपर्ने अवस्था आउनु दुःखद र चिन्ताजनक भएको समाजको भनाइ छ। समाजले घटनाको निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिन गरी वास्तविक कारण सार्वजनिक गर्न नेपाल सरकारसँग माग गरेको छ। साथै, उपचाररत गणेश नेपालीको प्रभावकारी उपचारको व्यवस्था गर्न तथा उनको परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन पनि आग्रह गरेको छ।