SHARE
Samata Press · शुक्रबार​ २६ असार २०८३ १०:५६ AM · 1 मिनेट पढाइ

आठराई गाउँपालिकाको बजेट २६ करोड ६८ लाख

तेह्रथुम। आठराई गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ कालागि २६ करोड ६८ लाख १६ हजार ६० रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। गाउँपालिकाको १९औँ अधिवेशनले उक्त बजेट पारित गरेको हो। गाउँसभाले गाउँ कार्यपालिकाबाट स्वीकृत भई आएका विभिन्न विधेयकहरूलाई समेत पारित गरेको छ। यसअघि गाउँपालिकाको नीति तथा कार्यक्रम भने असार १० गते नै गाउँसभाबाट पारित भइसकेको थियो। प्रस्तुत बजेटमा भौतिक पूर्वाधार विकास, कृषि, पशु सेवा, शिक्षा, युवा तथा खेलकुद, न्यायिक समिति तथा कर्मचारी पारिश्रमिकलगायतका क्षेत्रलाई प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ।  यस्तै, पूँजीगत बजेटमार्फत विभिन्न विकास निर्माणका कार्यक्रमहरू सञ्चालन गरिने उल्लेख गरिएको छ। गाउँपालिकाले आर्थिक वर्षको अन्त्यतिर विभिन्न सेवा तथा योजनासम्बन्धी कामका लागि सेवाग्राहीको चाप बढ्ने भएकाले आवश्यकताअनुसार केही योजनामा हेरफेर हुन सक्ने जनाएको छ। गाउँसभा अधिवेशनले आगामी आर्थिक वर्षका लागि विकास निर्माण, सेवा प्रवाह तथा जनमुखी कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै अधिवेशन सम्पन्न गरेको छ।