रास्वपाका सांसद पुकार बमलाई तनुजा पाण्डेको प्रश्न-‘तपाईँले इन्द्रबहादुर राई र रविन तामाङलाई चिन्नुहुन्छ ?'
काठमाडौँ । जेनजी अभियन्ता तनुजा पाण्डेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमको फेसबुक स्ट्याटस सेयर गर्दै सुकुम्वासी समुदायको पक्षमा आवाज उठाएकी छन् । उनले पुकार बमको सत्याग्रहभन्दा अहिले सुकुम्वासी बालबालिका र परिवारले भोगिरहेको पीडा बढी गम्भीर रहेको टिप्पणी गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत पाण्डेले पुकार बमलाई सम्बोधन गर्दै आफूले भनेको कुरा नराम्रो नमान्न आग्रह गर्दै लेखेकी छन्, ‘तपाईँको सत्याग्रहभन्दा धेरै भोकै बस्न बाध्य भएका सुकुम्वासी साना-साना बालबालिका र भाइबहिनी छन्, जो आधारभूत आवश्यकताबाट समेत वञ्चित छन् ।’ उनले पुकार बमजस्ता नेतालाई युवाको साथ, अस्पतालको पहुँच र आफ्ना धारणा सार्वजनिक गर्ने पर्याप्त माध्यम उपलब्ध रहेको उल्लेख गर्दै सुकुम्वासी समुदायसँग त्यस्तो अवसर नभएको बताएकी छन् । ‘उनीहरूसँग न त त्यस्तो पहुँच छ, न त आफ्नो पीडा सुनाउने पर्याप्त माध्यम नै,’ उनले उल्लेख गरेकी छन् । पाण्डेले यस्तो अवस्थामा पुकार बमको सत्याग्रहको नैतिक आधारमाथि प्रश्न उठेको बताउँदै सत्याग्रह भनेको आवाजविहीन र कमजोर समुदायको पीडा महसुस गर्ने सङ्घर्ष पनि भएको उल्लेख गरेकी छन् । उनले पुकार बमलाई इन्द्रबहादुर राई र रविन तामाङलाई चिन्नुहुन्छ कि भनेर प्रश्न गर्दै उनीहरूको पीडा, बाध्यता र अवस्थालाई पनि आफ्नो सत्याग्रहको सरोकारभित्र समेटिएको छ कि छैन भन्नेबारे सदनबाट जवाफ दिन आग्रह गरेकी छन् । यसअघि रास्वपा सांसद पुकार बमले फेसबुकमा ‘हेर्दै जाऔँ, यो शान्त ज्वालामुखीले क-कसलाई खरानी बनाउँछ’ भन्दै आफूलाई २२ वर्षदेखि सामाजिक-राजनीतिक सङ्घर्षमा रहेको सत्याग्रहीको रूपमा प्रस्तुत गरेका थिए । उनले आफू देश र नागरिकका लागि मर्न तयार रहेको उल्लेख गर्दै आफ्नो सङ्घर्षलाई कम आँक्न नहुने चेतावनी दिएका थिए । साथै, ‘इतिहास बुझ्न थोरै समय लाग्छ’ भन्दै धैर्यताको परीक्षा नलिन आग्रह गरेका थिए ।
