श्रेणीविहीनदेखि मुख्यसचिवसम्मले लिए ई-पेन्सन सुविधा, चार महिनामै ८० प्रतिशतले लिए अनलाइनबाटै सेवा
काठमाडौँ । राष्ट्रिय कितावखानाले सञ्चालनमा ल्याएको ई-पेन्सन सेवाप्रति निवृत्त निजामती कर्मचारीको आकर्षण उल्लेखनीय रूपमा बढेको छ । सेवा सुरु भएको करिब चार महिनामै कुल पेन्सन सेवाग्राहीमध्ये ८० प्रतिशतले डिजिटल माध्यमबाट ई-पेन्सन सेवा लिएको जनाइएको हो । राष्ट्रिय कितावखानाका अनुसार गत चैत ८ गतेदेखि सञ्चालनमा आएको ई-पेन्सन सेवा हालसम्म ५६२ जना निवृत्त कर्मचारीले उपयोग गरेका छन् । यस अवधिमा जम्मा ६९९ जना पेन्सन सेवाग्राहीमध्ये ८० प्रतिशतले अनलाइन प्रणालीमार्फत सेवा लिएका राष्ट्रिय कितावखानाका महानिर्देशक श्रवण पोखरेलले समता प्रेसलाई जानकारी दिए । उनका अनुसार अझै करिब २० प्रतिशत निवृत्त कर्मचारी भने प्रत्यक्ष रूपमा कार्यालयमै पुगेर सेवा लिइरहेका छन् । ई-पेन्सन सेवा श्रेणीविहीन कर्मचारीदेखि नेपाल सरकारका भर्खरै अनिवार्य अवकाशमा गएका मुख्यसचिव सुमनराज अर्यालसम्मले प्रयोग गरिसकेको महानिर्देशक पोखरेलले बताए । निवर्तमान मुख्यसचिव अर्यालले ई-पेन्सन सेवा लिएकोमा कितावखानाले धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ । कितावखानाले वर्तमान सरकारको सार्वजनिक सेवा प्रवाहलाई डिजिटल र फेस लेस बनाउने नीतिअनुसार आफ्ना सबै सेवा क्रमशः विद्युतीय माध्यममा रूपान्तरण गर्दै आएको जनाएको छ । यस क्रममा पेन्सन सेवा पनि पूर्ण रूपमा अनलाइन प्रणालीमा जोडिएको हो । कितावखानाका अनुसार हाल सुगम जिल्लासँगै ताप्लेजुङ, सोलुखुम्बु, मनाङ, मुस्ताङ, हुम्ला, जुम्ला, कालिकोट र दार्चुला लगायत दुर्गम तथा हिमाली जिल्लाबाट समेत निवृत्त कर्मचारीले उत्साहपूर्वक ई–पेन्सन सेवा उपयोग गरिरहेका छन् । केही महिनाअघि भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको उपस्थितिमा राष्ट्रिय कितावखानाका सम्पूर्ण सेवाहरू भौतिक उपस्थितिबिनै (फेस लेस) उपलब्ध गराइने घोषणा गरिएको थियो । कितावखानाले सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री, सहज, पारदर्शी र नागरिकमुखी बनाउने अभियानलाई निरन्तर अघि बढाइरहेको जनाएको छ ।
