SHARE
Samata Press · बिहीबार २५ असार २०८३ ०८:२१ AM · 1 मिनेट पढाइ

छाउपडी प्रथाबारे दिएको अभिव्यक्तिपछि विवादमा परेकी इब्सल सञ्जयालले मागिन् माफी

काठमाडौँ । छाउपडी प्रथासम्बन्धी आफ्नो अभिव्यक्तिलाई लिएर विवादमा परेकी लोक तथा दोहोरी गायिका इब्सल सञ्जयालले सार्वजनिक रूपमा माफी मागेकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत लामो स्ट्याटस लेख्दै उनले आफ्नो भनाइका कारण अछामवासीको भावनामा चोट परेको स्वीकार गर्दै हृदयदेखि नै क्षमा याचना गरेकी हुन् । सञ्जयालले आफूले बोलेको विषय कुनै पनि हालतमा अछाम जिल्ला, त्यहाँका नागरिक वा समुदायको प्रतिष्ठामाथि प्रहार गर्ने उद्देश्यले नभएको स्पष्ट पारेकी छन् । उनले आफ्नो अभिव्यक्ति गलत रूपमा पुगेकाले सम्पूर्ण अछामवासीसँग दुई हात जोडेर क्षमा मागेकी छन् । उनले आफू अमेरिका कहिल्यै नगएको र त्यहाँको अवस्थाबारे प्रत्यक्ष जानकारी नभएको उल्लेख गर्दै अमेरिकामा बसोबास गर्ने एक शुभचिन्तकसँग भएको टेलिफोन संवादका आधारमा उक्त विषय कार्यक्रममा उल्लेख गरेको बताएकी छन् । आफूले त्यसको तथ्य पुष्टि गर्न नसक्ने भएकाले त्यसबारे पुनः माफी मागेकी छन् । सञ्जयालका अनुसार उनी विद्यालय तहदेखि नै छाउपडी प्रथाविरुद्ध आवाज उठाउँदै आएकी छन् । महिनावारी भएका महिलाले सुरक्षित, स्वच्छ र सम्मानजनक वातावरणमा बस्न पाउनुपर्ने, छाउगोठमा बस्न बाध्य हुँदा हुने बलात्कार, सर्प दंश, निसास्सिएर मृत्युजस्ता घटनाको अन्त्य हुनुपर्ने उद्देश्यले आफूले विभिन्न सामाजिक अभियान र जनचेतनामूलक सामग्री निर्माण गर्दै आएको उनले उल्लेख गरेकी छन् । उनले एक टेलिभिजनको कार्यक्रममा दिएको अन्तर्वार्ताका क्रममा आफ्नो मनमा रहेको यही चिन्ता अभिव्यक्त भएको बताउँदै त्यो कुनै जिल्ला वा समुदायलाई लक्षित गरेर नभएको दाबी गरेकी छन् । कार्यक्रमको एउटा अंश मात्र सार्वजनिक हुँदा गलत सन्देश गएको उनको भनाइ छ । सञ्जयालले हाल आफ्नी आमाको उपचारका लागि अस्पतालमा रहेको अवस्थामा सामाजिक सञ्जालमा आफू विरुद्ध अत्यन्त अपमानजनक गालीगलौज र ट्रोलको सामना गर्नुपरेको उल्लेख गरेकी छन् । यद्यपि, आफूबाट अन्जानमै गल्ती भएकाले त्यसप्रति कुनै गुनासो नराखी सबैसँग माफी मागेको उनले बताएकी छन् । साथै उनले छाउपडी प्रथाका कारण अछामसहित सुदूरपश्चिम र कर्णाली क्षेत्रमा विगतमा धेरै महिलाले बलात्कार, सर्प दंश, निसास्सिएर मृत्युजस्ता पीडा भोग्नुपरेको स्मरण गराउँदै ती घटनालाई पनि बिर्सन नसकिने उल्लेख गरेकी छन् । आफूले १९ जनाको मृत्युबारे प्रहरी तथा सञ्चारमाध्यममा प्रकाशित समाचार र विभिन्न संस्थाका तथ्याङ्कका आधारमा उल्लेख गरेको दाबी गर्दै त्यसलाई कुनै जिल्लाको बदनाम गर्ने उद्देश्यका रूपमा नबुझिदिन आग्रह गरेकी छन् । उनले आफूलाई यस्तो जानकारी दिने व्यक्तिसँग पुनः सम्पर्क हुन नसकेकाले तत्काल प्रमाण प्रस्तुत गर्न नसकेको स्वीकार गरेकी छन् । भविष्यमा तथ्य पुष्टि भए प्रमाणसहित सार्वजनिक गर्ने र यदि प्रमाण पुष्टि हुन नसके पनि आफ्नो अभिव्यक्तिप्रति जिम्मेवार रहँदै पुनः क्षमा माग्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । स्ट्याटसको अन्त्यमा सञ्जयालले आफू सुदूरपश्चिम-कर्णालीकै छोरी चेली भएको उल्लेख गर्दै त्यही भूमिको माया, प्रेरणा र साथका कारण आफ्नो साङ्गीतिक यात्रा अघि बढिरहेको बताएकी छन् । आगामी दिनमा पनि सबैको माया, साथ र विश्वास कायम रहने अपेक्षा गर्दै उनले पुनः सम्पूर्ण अछामवासीसँग क्षमा याचना गरेकी छन् ।