SHARE
Samata Press · बुधबार २४ असार २०८३ १०:५७ PM · 1 मिनेट पढाइ

बाल अधिकार परिषदमा महिला मन्त्री सीता बादीको प्रत्यक्ष निगरानी, अब हप्तामा एक दिन परिषदमै सेवा

काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री एवं राष्ट्रिय बाल अधिकार परिषद्की अध्यक्ष सीता बादीले अबदेखि हप्ताको एक दिन राष्ट्रिय बाल अधिकार परिषद्मै उपस्थित भएर प्रत्यक्ष रूपमा सेवा प्रवाहको अनुगमन, सेवाग्राहीसँग संवाद तथा समस्या समाधानका लागि सहजीकरण गर्ने घोषणा गरेकी छन् । उनले बुधवार राष्ट्रिय बाल अधिकार परिषद्को अनुगमन गर्दै परिषद्को समग्र कार्यसम्पादन, सेवा प्रवाहको अवस्था, बाल अधिकार संरक्षणसँग सम्बन्धित गतिविधि, उजुरी व्यवस्थापन, अन्तर निकाय समन्वय तथा संस्थागत अवस्थाबारे विस्तृत जानकारी लिएकी हुन् । अनुगमनका क्रममा उनले परिषद्का कर्मचारीसँग छलफल गर्दै बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखेर सेवा प्रवाहलाई थप छिटोछरितो, पारदर्शी, प्रभावकारी र सेवाग्राहीमैत्री बनाउन निर्देशन दिइन् । उनले बाल अधिकार संरक्षणका लागि सम्बन्धित निकायबिच समन्वय, जबाफदेहिता र उत्तरदायित्व अझ सुदृढ बनाउनुपर्नेमा विशेष जोड दिइन् । मन्त्री बादीले सेवाग्राहीको सहज पहुँच सुनिश्चित गर्दै बाल अधिकारसँग सम्बन्धित गुनासा र समस्याको प्रत्यक्ष सुनुवाइ तथा समाधानलाई प्रभावकारी बनाउन अबदेखि हप्ताको एक दिन परिषदमै उपस्थित भएर सेवा प्रवाहको अवस्था अनुगमन गर्ने, सेवाग्राही तथा सरोकारवालासँग प्रत्यक्ष संवाद गर्ने र आवश्यक सहजीकरण गर्ने व्यवस्था लागू गरिने घोषणा गरिन् । उनका अनुसार यस व्यवस्थाले परिषद्को सेवा प्रवाहलाई अझ उत्तरदायी, पारदर्शी र नागरिकमैत्री बनाउनुका साथै बालबालिका तथा सरोकारवालाको राज्यका सेवामा पहुँचलाई थप सहज बनाउने विश्वास लिइएको छ । मन्त्री बादीले बाल अधिकार संरक्षणका क्षेत्रमा परिणाममुखी काम गर्न परिषद्ले उजुरी व्यवस्थापन, सेवा प्रवाहको गुणस्तर, समन्वय प्रणाली तथा संस्थागत क्षमता सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याउँदै बालमैत्री र अधिकारमैत्री सेवा प्रणाली निर्माणमा सबै कर्मचारी प्रतिबद्ध हुनुपर्ने बताइन् । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले नागरिकमैत्री, पारदर्शी र परिणाममुखी सार्वजनिक सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै यस्ता प्रत्यक्ष अनुगमन, संवाद र सेवामूलक अभ्यासलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ ।