SHARE
Samata Press · बुधबार २४ असार २०८३ १२:१८ PM · 1 मिनेट पढाइ

अब महिला मन्त्रालयमा ह्वीलचेयर सुविधा, सेवाग्राहीले परिसरमै सहज सेवा पाउने

काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रालयमा आउने सेवाग्राहीको सहज पहुँच सुनिश्चित गर्न बुधवारदेखि ह्वीलचेयर सेवा सञ्चालनमा ल्याएको छ । शारीरिक रूपमा हिँडडुल गर्न कठिनाइ भएका व्यक्ति, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा आवश्यकताअनुसार अन्य सेवाग्राहीलाई लक्षित गर्दै मन्त्रालय परिसरभर ह्वीलचेयर सेवा उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सेवा लिन आउने नागरिकलाई सहज, सुरक्षित र सम्मानजनक वातावरण उपलब्ध गराउने उद्देश्यले यो सेवा सुरु गरिएको हो । यसले सार्वजनिक सेवा प्रवाहलाई थप पहुँचयुक्त, समावेशी र नागरिकमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । अब मन्त्रालयमा सेवा लिन आउने सेवाग्राहीले आवश्यकता अनुसार ह्वीलचेयर प्रयोग गरी सहज रूपमा आफ्नो काम सम्पन्न गर्न सक्नेछन् । यस व्यवस्थाले विशेष गरी अपाङ्गता भएका व्यक्ति तथा शारीरिक कठिनाइ भएका नागरिकको सेवा पहुँचमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास मन्त्रालयको छ । मन्त्रालयले यो पहल नेपाल सरकारको समावेशी शासन, समान पहुँच र नागरिकमैत्री सेवा प्रवाहको प्रतिबद्धताअनुरूप अघि बढाइएको जनाएको छ । आगामी दिनमा पनि सेवाग्राहीको आवश्यकता र सुविधालाई केन्द्रमा राखेर थप सुधारमुखी कार्यक्रम सञ्चालन गरिने मन्त्रालयले जनाएको छ ।