नगर सभामा विषयगत समितिका प्रतिवेदन र ऐन संशोधन सम्बन्धी प्रस्ताव पेश
काठमाडौँ । काठमाडौँ महानगरपालिका, नगर सभा १९ औँ अधिवेशनको पाँचौँ वैठकमा चालु आर्थिक वर्षको न्यायिक समितिको प्रतिवेदन, सुशासन समितिको प्रतिवेदन र लेखा समितिको वार्षिक प्रतिवेदन पेश भएको छ । सभाका अध्यक्ष एवं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, न्यायिक समितिको प्रतिवेदन पेश गर्न समितिका सदस्य आशा श्रेष्ठ रौनियारलाई, विकास तथा सुशासन समितिको प्रतिवेदन पेश गर्न संयोजक सिर्जना भेटवाललाई र लेखा समितिको प्रतिवेदन पेश गर्न संयोजक गायत्री पुडासैनीलाई समय प्रदान गर्नुभएको थियो । सभामा प्रतिवेदन पेश गर्ने लेखा समिति र सुशासन समिति नगर सभा अन्तर्गतका समिति हुन् । सभामा कार्यपालिका अन्तर्गतको सुशासन समितिका संयोजक ख्यामराज तिवारीले, ‘महानगर प्रहरी ऐन २०८० को दोस्रो संशोधन विधेयक २०८३’ र ‘भवन निर्माण मापदण्ड २०८० को दोस्रो संशोधन २०८३’ सम्बन्धी प्रस्ताव पेश गर्नुभएको थियो । नगर सभा १९ औँ अधिवेशनको पाँचौँ वैठक, प्रत्यक्ष प्रसारण भिडियो यहाँ हेर्न सकिन्छ । सभाका अध्यक्ष डंगालले, आज पेश भएका वार्षिक प्रतिवेदन, ऐन तथा मापदण्ड संशोधन तथा चौथो वैठकमा पेश भएका ऐन संशोधन सम्बन्धी प्रस्तावमा छलफल गर्न असार २५ गते सभाको अर्को वैठक बोलाउनुभयो । सभाको चौथो बैठकमा पेश भएका ‘जनस्वास्थ्य ऐन २०८० को पहिलो संशोधन २०८३’, ‘शिक्षा ऐन २०७५ को दोस्रो संशोधन २०८३’, ‘विवाद निरुपण (कार्यविधि) ऐन २०७५ को पहिलो संशोधन २०८३’, ‘विपद व्यवस्थापन ऐन २०७७ को पहिलो संशोधन २०८३’ र ‘कर्मचारी सेवा ऐन २०७७ को चौथो संशोधन २०८३’ छलफलका लागि विधायन समितिमा पठाइएको थियो । यस वर्ष नगर सभा १९ औँ अधिवेशनका बैठक जेठ ३१ गते सुरु भएको हो । त्यस बैठकमा कार्यवाहक प्रमुख सुनिता डंगोलले, आर्थिक वर्ष २०८३/०८४ का लागि ११ क्षेत्रका १०१ बुँदामा नीति प्रस्ताव गर्नुभएको थियो । यसरी पेश गर्नुभएको प्रस्तावमाथि असार १ गते बसेको अधिवेशनको दोस्रो वैठकले सर्वसम्मत पारित गर्यो ।
