SHARE
Samata Press · मङगलबार २३ असार २०८३ ०५:०६ PM · 1 मिनेट पढाइ

भारतीय पर्यटकको ठमेलमा बढ्यो चहलपहल

काठमाडौँ । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पछिल्लो समय भारतीय पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । पहिले पहिले प्रायः अरु देशका पर्यटकहरूको केन्द्र रहने गरेको ठमेलमा अहिले भने भारतीय पर्यटकको बाहुल्यता हुने गरेको छ । प्रकृति, संस्कृति र साहसिक खेलका लागि उत्कृष्ट गन्तव्यका रूपमा रहेको नेपाल घुम्नका लागि पछिल्लो समय भारतीय पर्यटकहरू आउने गरेका छन् । केही समययतादेखि काठमाडौँको ठमेल क्षेत्रमा साँझपख भारतीय पर्यटकको विशेष चहलपहल देखिन थालेको यहाँका होटल तथा अन्य पर्यटन व्यवसायीहरू बताउँछन् । विशेष गरी काठमाडौँमा अधिकांश भारतीय पर्यटकहरू रहने भनेको पशुपतिनाथ क्षेत्रमा हो । तर यसबाहेक पनि स्वयम्भूनाथ, बौद्धनाथ, पाटन र काठमाडौँ दरबार क्षेत्रमा रहेका सम्पदा र स्थलहरूको भ्रमणमा पनि उनीहरू उत्तिकै रमाउने गरेका छन् । तर पछिल्लो समय भने काठमाडौँ आएका भारतीय पर्यटकहरूको केन्द्र ठमेल पनि बन्न थालेको छ । उनीहरूले यहाँ रहेर नेपाली खानाको परिकार, सांस्कृतिक वातावरणको अनुभव लिनुका साथै नेपाली हस्तकलालगायतका सामग्रीहरूको किनमेलमा पनि उनीहरू रमाउने गरेका छन् । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष ध्रुव अधिकारीले पछिल्लो समय भारतीय पर्यटकका कारण ठमेल क्षेत्रको अर्थतन्त्र चलायमान भएको बताउछन् । “भारतीय पर्यटकका कारण अहिले ठमेल क्षेत्रका होटल, रेस्टुरेन्ट, पसल र क्लबहरू भरिभराउ भएका छन्, यो ठमेलका लागि खुसीको कुरा हो,” उनले भने । काठमाडौँ महानगरपालिका–१६ ठमेलस्थित चारतारे होटल रमदा इन्कोर काठमाडौँका महाप्रबन्धक महेश फुँयाल अहिलेको समयमा आफ्नो होटलमा आउने पर्यटकमध्ये ३० प्रतिशत भारतीय मात्र रहने गरेको बताए । “काठमाडौँभित्रको पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने पर्यटकहरू धेरै रहेका छन्,” उनले भने । काठमाडौँमा आउने धेरै भारतीय पर्यटक पशुपति, गौशाला क्षेत्रमा बस्ने गरे पनि ठमेलमा पनि हिजोआज भारतीय पर्यटकको चहलपहल राम्रो रहेको बताए । नेपाल घुम्न आउने पर्यटकमध्ये ८० प्रतिशत पर्यटक ठमेल आउने गरेका छन् । ठमेल पुरानो सांस्कृतिक तथा ऐतिहासिक बजार हो । ठमेलभित्र मेलेश्वर मन्दिर, मैत्रीपुर महाविहार, नाट्टेश्वर, त्रिदेवी मन्दिर, अशोक चैत्य, भगवान बहाल, भगवती मन्दिर, भीमसेनपाटी, गाःहिटी, गुणाकर महाविहार, करुणापुर महाविहार, तःहिटी चैत्य, श्री गाहा चैत्य रहेका छन् ।