वार्तापछि दृष्टिविहीन समुदायको आन्दोलन रोकियो, समाधानका लागि अन्तर मन्त्रालय समन्वय हुने
काठमाडौँ । विगत दुई सातादेखि माइतीघर मण्डलामा जारी दृष्टिविहीन समुदायको धर्ना कार्यक्रम सरकारसँग भएको वार्तापछि स्थगित भएको छ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा आन्दोलनरत पक्षसँग भएको छलफलपछि उनीहरूले उठाएका माग सम्बोधनका लागि आवश्यक पहल गर्ने सहमति भएको हो । सहमतिअनुसार माइतीघर मण्डलामा जारी धर्ना कार्यक्रम तत्कालका लागि स्थगित गरिएको छ । साथै, दृष्टिविहीन समुदायका माग सम्बोधन नभएसम्म तथा साउन मसान्तसम्म उनीहरूले सञ्चालन गर्दै आएका कला तथा साङ्गीतिक प्रस्तुति तथा जीविकोपार्जनका गतिविधि हाल सञ्चालन भइरहेका स्थानमै कुनै अवरोध वा रोक छेक नगरी निरन्तर सञ्चालन गर्न दिने सहमति भएको छ । वार्ताका क्रममा दृष्टिविहीन समुदायले उठाएका माग सम्बोधन गर्न महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले युवा, श्रम तथा रोजगार मन्त्रालय, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय तथा शिक्षा तथा खेलकुद मन्त्रालयसँग आवश्यक समन्वय गरी समाधान प्रक्रिया अघि बढाउने सहमति भएको छ । दृष्टिविहीन समुदायले आफ्नो सीप, योग्यता र क्षमताअनुसार रोजगारीको सुनिश्चितता गर्न, पढ्ने–लेख्ने अवसरबाट वञ्चित दृष्टिविहीन व्यक्तिका लागि सीपमूलक तालिम, बीउपूँजी तथा उत्पादित सामग्रीको बजारीकरणको व्यवस्था गर्न माग गरेका छन् । त्यस्तै उमेर वा अन्य कारणले रोजगारी तथा स्वरोजगार गर्न नसक्ने व्यक्तिका लागि जीवननिर्वाहयोग्य बेरोजगार भत्ता उपलब्ध गराउन पनि सरकारसँग आग्रह गरिएको छ । यस्तै सम्पूर्ण दृष्टिविहीन व्यक्ति तथा उनीहरूमा आश्रित परिवारका सदस्यलाई निःशुल्क स्वास्थ्य उपचार, सहायक सामग्री तथा सहायक प्रविधि उपलब्ध गराउनुपर्ने, हवाई तथा सडक सार्वजनिक यातायातमा अपाङ्गता परिचयपत्रका आधारमा ५० प्रतिशत भाडा छुटको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने माग पनि राखिएको छ । त्यसै गरी दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिका छोराछोरीलाई निजी तथा सामुदायिक विद्यालयमा सामान्य तथा प्राविधिक शिक्षा निःशुल्क उपलब्ध गराउने व्यवस्था गर्न तथा व्यवसाय सञ्चालन गर्न इच्छुक दृष्टिविहीन व्यक्तिलाई बिना धितो कम्तीमा १० लाख रुपैयाँसम्म १० वर्षे किस्ताबन्दीमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनुपर्ने माग आन्दोलनरत पक्षले अघि सारेको छ । वार्तापछि दुवै पक्षबिच सम्बन्धित मन्त्रालयसँग नियमित समन्वय, संवाद र सहकार्यलाई निरन्तरता दिँदै दृष्टिविहीन समुदायका जायज माग चरणबद्ध रूपमा सम्बोधन गर्ने समझदारी भएको छ । साथै, सहमतिका बुँदा प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्दै समाधान प्रक्रिया अघि बढाइने प्रतिबद्धता पनि जनाइएको छ । यस सहमतिसँगै विगत दुई सातादेखि माइतीघर मण्डलामा जारी आन्दोलन तत्कालका लागि स्थगित भएको छ । दुवै पक्षले दृष्टिविहीन समुदायका समस्या र मागको दिगो समाधानका लागि आगामी दिनमा पनि निरन्तर संवाद, समन्वय र सहकार्यलाई अघि बढाउने विश्वास व्यक्त गरेका छन् ।
