तीजले नेपाली समाजको सांस्कृतिक पहिचानलाई जोड्दै लगेको छ ः मन्त्री खड्का
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले नेपाली समाजको मौलिकता र सांस्कृतिक अस्तित्व जोगाउने जिम्मेवारी सबैको काँधमा रहेको बताएका छन् ।नेपाल विद्यार्थी संघ, पशुपति बहुमुखी क्याम्पस इकाई समितिले आयोजना गरेको ‘हिन्दू नारीहरूको महान पर्व हरितालिका तीज’ को अवसरमा आयोजित बृहत् सांस्कृतिक तथा दर खाने कार्यक्रममा मन्त्री खड्काले तीजलाई केवल महिलाको पर्व नभई समाजलाई अनुशासित, मर्यादित र आस्थासँग जोड्ने माध्यमका रूपमा लिनुपर्ने बताएका हुन् ।मन्त्री खड्काले भने, ‘कुनै धातु तरल अवस्थामा रहँदा जसरी पाइएको फ्रेमअनुसार आकार लिन्छ, विद्यार्थी पनि आजको दिनमा आफैंलाई जसरी तयार गर्छन्, त्यसरी नै भविष्य निर्माण हुन्छ । त्यसैले धर्म, संस्कृति र समाजको रक्षा गर्दै योग्य नागरिक बन्नु तपाईँहरूको जिम्मेवारी हो । तीज अब दाजुभाइ, आमा–दीदी–बहिनी सबैले मिलेर मनाउने साझा पर्वको रूपमा स्थापित हुँदै गएको छ ।
