पार्टीको वाचा पत्रअनुसार सुकुम्वासी व्यवस्थापन नभएको भन्दै रास्वपा सचेतक क्रान्तिशिखा धितालको असन्तुष्टि
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलकी सचेतक क्रान्ति शिखा धितालले सुकुम्वासी व्यवस्थापनका क्रममा देखिएको सरकारी कार्यशैलीप्रति असन्तुष्टि जनाएकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले सडकमा बगिरहेको सुकुम्वासीको आँसुले सबैलाई पोल्नुपर्ने उल्लेख गरेकी छन् । सचेतक धितालले सुकुम्वासीको व्यवस्थापन अत्यन्तै आवश्यक विषय भए पनि त्यो सरकारको वाचा पत्र र प्रतिबद्धताअनुसार हुन नसकेको टिप्पणी गरेकी छन् । उनले अभिभावकीय राज्यको भूमिका संवेदनशील, योजनाबद्ध र जिम्मेवार हुनुपर्ने उल्लेख गर्दै सुकुम्वासी व्यवस्थापन त्यसअनुरूप अघि नबढेको बताएकी छन् । सत्तारुढ दलकै प्रमुख नेतृबाट आएको यो अभिव्यक्तिलाई सुकुम्वासी व्यवस्थापनका विषयमा सरकारको कार्यशैलीमाथि गरिएको सार्वजनिक समीक्षा र आत्मालोचनाका रूपमा हेरिएको छ । यस्तो छ रास्वपाका सचेतक क्रान्ति शिखा धितालको फेसबुक स्टाटस ‘आज सडकमा बगिरहेका सुकुम्वासीका आँसुले हामी सबैलाई पोल्नुपर्छ। सुकुम्वासीको व्यवस्थापन अत्यन्तै आवश्यक थियो ।
