SHARE
मेट्रो न्युज काठमाडौं · सोमबार २२ असार २०८३ ०६:१२ PM · 1 मिनेट पढाइ

'ल्याण्डफिल साइटको आयु वढाउन ‘स्रोत र मटेरियल रिकभरी सेन्टरबाट मात्रा घटाउने’ र दिगोपनाका लागि पालिकाहरुसँग ‘वित्तीय साझेदारी’ गर्ने उपाय अपनाउँदैछौँ' - कार्यवाहक प्रमुख, डंगोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, घरेलु फोहर व्यवस्थापनका लागि महानगरपालिकाले स्रोतमा वर्गीकरण गरेर मात्रा घटाउने, त्यहाँबाट आएको फोहरलाई मटेरियल रिकभरी सेन्टरमा बर्गीकरण गर्ने विधिलाई क्रमशः कार्यान्वयन गर्दै लगेको बताउनुभएको छ । आज सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक इञ्जिनियर रविन्द्र वोहोरासहित अधिकारी र वातावरण व्यवस्थापन विभागका अधिकारीहरुसँग बञ्चरे डाँडा सेनिटरी ल्याण्डफिल साइट व्यवस्थापनका विषयमा छलफल गर्दै उहाँले यस्तो बताउनुभएको हो । ‘हामीले सहर सफा बनाउनु छ । यससँगै ल्याण्डफिल साइटलाई वातावरणमैत्री सञ्चालन गरेर लामो आयु दिनुपर्नेछ । महानगरपालिकाको यो योजनामा संघ सरकार र उपत्यकाका स्थानीय तहबाट सहयोग चाहिन्छ ।’  उहाँले सहयोग र समन्वयका विषय खुलाउँदै भन्नुभयो, ‘हामीले सहरका विभिन्न ७ ठाउँमा मटेरियल रिकभरी सेन्टर सञ्चालन गरेर ल्याण्डफिल साइटमा पुर्‍याउनु पर्ने फोहरको मात्रा घटाउन चाहेका छौँ । यसका लागि संघ सरकारले जमिन उपलब्ध गराउनुपर्छ । यो जमिन हाम्रो क्षेत्राधिकारभित्र छैन ।’ उपत्यकाका भित्रका पालिकाहरुसँगको सहकार्यका विषयमा उहाँले भन्नुभयो, ‘ल्याण्डफिल साइट र त्यस क्षेत्रसँग सम्बन्धित पूर्वाधार र सामाजिक क्षेत्रका कार्यक्रमका लागि महानगरपालिकाले वार्षिक करिब १ अरब रकम खर्च गर्ने गरेको छ । यो खर्चमा फोहरको भारका आधारमा उपत्यकाका स्थानीय तहबाट वित्तीय साझेदारीको अपेक्षा गरेका छौँ । वित्तीय साझेदारी केवल लागत सहभागिता मात्र होइन । यसले स्थानीय तहलाई आफूले उत्पादन गरेको फोहर व्यवस्थापनमा अपनत्व बोध गराउँछ । यसकारण वित्तीय साझेदारीको अपेक्षा गरेका हौँ ।’ ‘काठमाडौँ महानगरपालिकाभित्रबाट धेरै फोहर उत्पादन हुने भएकोले करिब ५० प्रतिशत लागतमा हामी जिम्मेवारी लिन्छौँ । कुनै पालिकालाई कठिन छ भने त्यसमा सहयोग पनि प्रदान गर्छौँ । फोहर व्यवस्थापनका लागि नेतृत्व पनि लिन्छौँ । तर, सबै काम आफूले गरेर अपजस मात्र प्राप्त हुने अवस्थाको अन्त्य गर्न चाहन्छौँ ।’ उहाँले स्पष्ट पार्नुभयो ।  छलफलमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले, फोहर व्यवस्थापनमा लागत बढ्ने क्रममा रहेको तर व्यवस्थापनमा सहभागिता कतैबाट पनि नभएको, स्थानीयबासीसँग विभिन्न निकायले समय समयमा गरेका सम्झौताको दायित्व पनि महानगरपालिकाको काँधमा आउने गरेको बताउनुभयो । यसले महानगरपालिकाको आर्थिक दायित्व अझ बढ्दै गएको उहाँको भनाइ छ ।  छलफलमा महानिर्देशक वोहोराले, काठमाडौँ उपत्यका बाहिरका स्थानीय तहलाई फोहर व्यवस्थापनका लागि सरकारले उपलब्ध गराएको जमिन प्राप्त गर्ने विधि काठमाडौँ पनि अवलम्बन गर्न सकिने बताउनुभयो । ‘यसको प्रक्रियाका लागि हामी अभ्यास बताउन सक्छौँ ।’ छलफलमा वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राई, सहरी विकास तथा भवन निर्माण विभागका प्रमुख सुरेश राई, सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक एकराज अधिकारी, वरिष्ठ डिभिजनल इञ्जिनियर रुपक आचार्य सहित अधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।   छलफलमा ल्याण्डफिल साइट क्षेत्रको वातावरणीय अवस्था र सुधारका लागि अबलम्बन गर्नु पर्ने विधि, उपत्यका बाहिरका स्थानीय तहबाट उपत्यका प्रवेश गराएर ल्याण्डफिल साइटसम्म फोहर लैजाने गरेका विद्यमान अवस्थाको अन्त्य, साइटको आयु वढाउन फोहर वर्गीकरण, पुनःप्रयोग, पुनःचक्रीय प्रयोग विधिको प्रवर्धनका विषय कुराकानी भएको थियो ।  काठमाडौँ महानगरपालिकासहित काठमाडौँ उपत्यका, काभ्रेपलाञ्चोक, नुवाकोट र धादिङ्का स्थानीय तहमा उत्पादन भएको फोहोर व्यवस्थापन धादिङ् र नुवाकोट जिल्लाको सिमानामा रहेको बञ्चरे डाँडामा बनाइएको सेनेटरी ल्याण्डफिल साइटमा भइरहेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: मेट्रो न्युज काठमाडौं