सम्पत्ति छानबिन हामीबाटै सुरु गरौँ, प्रधानमन्त्री तयार हो? : आङ्देम्बे
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सम्पत्ति छानिबन आफूहरूबाटै सुरु गर्न प्रस्ताव राखेका छन्। आजको प्रतिनिधिसभा बैठकमा उनले प्रतिपक्षीको नेताको रूपमा आफू र सत्ताको नेतृत्वकर्ता प्रधानमन्त्रीको सम्पत्ति छानबिन गरी सुरु गर्नु पर्ने बताए। ‘म विपक्षी दलको नेता हो। मेरो नाम भीष्मराज आङ्देम्बे हो। मैबाट सुरु गरौँ। र, प्रधामन्त्रीजीबाटै गरौँ। अरुबाट होइन। सम्पत्ति छानबिनको सुरुआत हामीबाटै सुरु गरौं,’ उनले भने। उनले प्रधानमन्त्रीले आर्जन गरेको सम्पत्ति अवैध नभएको आफूलाई विश्वास रहेको बताए। तर, जनताले यति धेरै सुन कहाँबाट आयो भनेर सोधिरहेको बताए । उनले प्रधानमन्त्रीको सम्पत्तिमा झन्डै दुई सय तोला सुन रहेको भन्दै मन्त्रीहरूको पनि सुन धेरै देखिएको बताए।
