SHARE
Samata Press · सोमबार २२ असार २०८३ ०३:०० PM · 1 मिनेट पढाइ

संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : अध्यक्ष राई

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले संविधानका आधारभूत संरचनालाई यथावत राखेर अन्य विषयमा संशोधन गर्न सकिने बताएका छन् ।  प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै उनले संविधान संशोधनको सवालमा गम्भीर हुनुपर्ने बताए ।   “ संविधानको आधारभूत संरचनालाई यथावत राखेर अन्य विषय संशोधन गर्न सक्छौँ । संशोधनमा हामी गम्भीर हुनुपर्छ, यो जानिएन भने समस्या हुने खतरा छ”, उनले भने ।    अध्यक्ष राईले सुशासन, भ्रष्टाचार नियन्त्रण र प्रभावकारी सेवा प्रवाहमा सरकारको १०० दिनको प्रयासप्रति धन्यवाद दिए ।    आफूले केही समयअघि महाकाली क्षेत्रको भ्रमण गरेको उल्लेख गर्दै अध्यक्ष राईले दार्चुला–टिङ्कर सडक निर्माणलाई तीव्रता दिन आग्रह गरे । अध्यक्ष राईले अब राष्ट्रिय गौरवको आयोजना सीमावर्ती क्षेत्रमा केन्द्रित गर्नुपर्ने धारणा राखे ।  सुकुमवासी, अव्यवस्थित बसोबासीको पुनर्वासको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गर्दै अध्यक्ष राईले यथाशीघ्र धनीपूर्जा उपलब्ध गराउन सुझाव दिए ।    धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन माग गर्दै उनले स्वास्थ्य सेवालाई विकेन्द्रित गर्न सुझाव दिए।