SHARE
Samata Press · आइबार​ २१ असार २०८३ १०:०३ AM · 1 मिनेट पढाइ

११ सिडिओ हेरफेर हुँदा १६ सहायक सिडिओ फेरिए, सहसचिव दरबन्दीका दुई जिल्लामा उपसचिव खटाइए

काठमाडौँ । गृह मन्त्रालयले मन्त्रालयअन्तर्गत कार्यरत ४२ जना राजपत्राङ्कित द्वितीय श्रेणी अर्थात् उपसचिवको सरुवा गरेको छ । शुक्रवार गरिएको सरुवाअन्तर्गत ११ जना उपसचिवलाई विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) को जिम्मेवारी दिइएको छ भने १६ जनालाई सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडिओ) का रूपमा खटाइएको छ । सरुवासँगै विभिन्न जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत सात जना उपसचिवलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा पदस्थापन गरिएको छ । त्यस्तै, विभिन्न मन्त्रालय तथा सरकारी निकायमा कार्यरत चार जना उपसचिवलाई पनि प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीसहित जिल्लामा पठाइएको गृह मन्त्रालयले जनाएको छ । यस्तै, यसअघि विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिरहेका छ जना उपसचिवलाई अन्य जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरिएको छ । सरुवामा चार जना उपसचिवलाई पुनः सहायक प्रमुख जिल्ला अधिकारीकै जिम्मेवारीमा पठाइएको छ । यसरी दोहोरिएर सहायक प्रमुख जिल्ला अधिकारीमा खटाइनेमा लक्ष्मीदेवी शर्मा (प्युठानबाट भक्तपुर), किरण जोशी (कैलालीबाट गुल्मी), थम्मनसिंह गौतम (लमजुङबाट कास्की) र ओमप्रसाद भट्टराई (धादिङबाट उदयपुर) रहेका छन् । यस्तै मन्त्रालयले सरुवा गर्दा सहसचिवको दरबन्दी रहेका दुई जिल्लामा उपसचिवलाई नै प्रमुख जिल्ला अधिकारी खटाएको छ । जसमा डडेल्धुरा र ताप्लेजुङमा सहसचिवको दरबन्दी रहे पनि उपसचिवलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा पठाएको हो । जसमा ताप्लेजुङमा यस अघि धनुषामा सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहेका उमेशकुमार दाहाल र डडेल्धुरामा मन्त्रालयका उपसचिव मिना अर्याललाई खटाइएको छ ।