SHARE
Samata Press · आइबार​ २१ असार २०८३ ०८:१२ AM · 1 मिनेट पढाइ

विप्लवबाट अलग भएकाले बिउँताए नेकपा, कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध गर्ने प्रतिबद्धता

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) परित्याग गरेका नेता-कार्यकर्ताले साबिकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई पुनः बिउँताउने घोषणा गर्दै रुपन्देहीमा ४५ सदस्यीय जिल्ला समिति गठन गरेका छन् । शनिवार बुटवलमा सम्पन्न भेलाले विष्णु तिवारीको संयोजकत्वमा ४५ सदस्यीय नेकपा रुपन्देही जिल्ला समिति गठन गरेको हो । भेलाले तत्कालीन नेकपा (माओवादी) का केन्द्रीय सदस्य शरद वलीलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिएको छ । भेलामा पार्टीका स्थायी समिति सदस्य उमा भुजेल, भेषराज भुसाल, वसन्त श्रेष्ठ, शरद ओली, चन्द्रबहादुर खड्का ‘असल’ लगायतका नेताको सहभागिता रहेको थियो । भेलामा विप्लव नेतृत्वको नेकपा (माओवादी) बाट ३० भन्दा बढी नेता-कार्यकर्ताले पार्टी परित्याग गरी नयाँ सङ्गठनात्मक अभियानमा सहभागी भएको जनाइएको छ । विभिन्न क्षेत्रको जिम्मेवारी तोकियो भेलाले जिल्लाका विभिन्न पालिका तथा क्षेत्रका लागि सङ्गठनात्मक जिम्मेवारी समेत निर्धारण गरेको छ । निर्णयअनुसार देव दह, ओमसतिया र रोहिणी क्षेत्रको इन्चार्जमा मदन थारु तोकिएका छन् । सिद्धार्थनगर नगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाको इन्चार्जको जिम्मेवारी शङ्कर ज्ञवालीलाई दिइएको छ । मायादेवी र गैडहवा गाउँपालिकाको इन्चार्जमा अविराम यादव तथा सचिवमा राम वचन यादव चयन भएका छन् । त्यसै गरी बुटवल उपमहानगरपालिकाको इन्चार्जमा महेन्द्र टण्डन र सचिवमा दीपक पौडेल, कञ्चन गाउँपालिकाको इन्चार्जमा सोमनाथ शर्मा, तिलोत्तमा नगरपालिकाको इन्चार्जमा श्रीधर ज्ञवाली, मर्चवारी गाउँपालिकाको इन्चार्जमा नन्दलाल लोध तथा सियारी गाउँपालिकाको सचिवमा अनवर यादव चयन भएका छन् । भेलाले सैनामैना क्षेत्रको सङ्गठनात्मक जिम्मेवारी जिल्ला कार्यालयमार्फत सञ्चालन गर्ने निर्णय पनि गरेको छ । साथै पार्टीका विभिन्न जन वर्गीय सङ्गठनको जिम्मेवारीसमेत बाँडफाँट गरिएको जनाइएको छ । कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध गर्ने प्रतिबद्धता भेलालाई सम्बोधन गर्दै पार्टीका कार्यालय सदस्य भेषराज भुसाल, वसन्त श्रेष्ठ, केन्द्रीय सदस्य जया पौडेल लगायतका नेताले नेपालको कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध गर्दै जन पक्षीय राजनीतिक शक्ति निर्माण गर्नु वर्तमान आवश्यकता भएको बताएका थिए । उनीहरूले सङ्गठन विस्तार, वैचारिक स्पष्टता, जन आधारित आन्दोलनको सुदृढीकरण तथा जनतासँग प्रत्यक्ष जोडिने राजनीतिक अभियानलाई नयाँ ढङ्गबाट अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । भेलाले सङ्गठन पुनर्गठनसँगै जिल्लाभर पार्टी विस्तार अभियानलाई तीव्र बनाउने, जन वर्गीय सङ्गठनलाई सक्रिय बनाउने तथा राजनीतिक वैचारिक अभियानलाई सशक्त रूपमा अघि बढाउने निर्णयसमेत गरेको जनाएको छ ।