महिला मन्त्री सिता बादीका १०० दिने उपलब्धि : ९३९ गर्भवतीको हवाई उद्धारदेखि सडक बालबालिका उद्धारसम्म
काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक एवं सामाजिक सुरक्षा मन्त्री सिता बादीले कार्यभार सम्हालेको पहिलो १०० दिनमै मन्त्रालयलाई सेवामुखी, डिजिटल र परिणाममुखी बनाउने विभिन्न कार्यक्रम अघि बढाएकी छन् । दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धारदेखि सडक बालबालिकाको पुनर्स्थापना, हराएका बालबालिकाको खोजी, महिला हिंसा नियन्त्रणका लागि कानुनी सुधार, मन्त्रालयको पूर्ण डिजिटल सञ्चालन तथा सामाजिक सुरक्षा सम्बन्धी सेवामा सुधारका कामलाई मन्त्रालयले आफ्नो प्रमुख उपलब्धिका रूपमा सार्वजनिक गरेको छ । मन्त्री बादीको नेतृत्वमा मन्त्रालयले दुर्गम तथा विकट क्षेत्रमा ज्यान जोखिममा रहेका ३० जना गर्भवती, सुत्केरी तथा नवजात शिशुको हवाई उद्धार गरेको छ । यससँगै हालसम्म यो सेवा प्राप्त गर्नेको सङ्ख्या ९३९ पुगेको मन्त्रालयले जनाएको छ । बाल संरक्षणका क्षेत्रमा पनि मन्त्रालयले उल्लेखनीय प्रगति गरेको दाबी गरेको छ । पछिल्लो १०० दिनमा ९९ जना सडक बालबालिकाको उद्धार, संरक्षण तथा पुनर्स्थापना गरिएको छ । यससँगै हालसम्म सडकबाट उद्धार गरिएका बालबालिकाको सङ्ख्या २ हजार ६९६ पुगेको छ । यस्तै हराएका २ हजार ४४० बालबालिकामध्ये २ हजार ४६ जनाको खोजी गरी परिवारसँग पुनर्मिलन गराइएको छ । मन्त्रालयका अनुसार हालसम्म ५५ हजार ८४७ हराएका बालबालिकाको खोजी तथा व्यवस्थापन भइसकेको छ । महिला तथा बाल अधिकारसँग सम्बन्धित कानुनी सुधारलाई पनि मन्त्री बादीले प्राथमिकतामा राखेकी छन् । लैङ्गिक हिंसा निवारण सम्बन्धी एकीकृत कानुन तथा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन संशोधन प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ । साथै बालबालिका सम्बन्धी नियमावली, २०७८ संशोधन र राष्ट्रिय लैङ्गिक परीक्षण कार्यविधि, २०८२ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ । प्रशासनिक सुधारअन्तर्गत मन्त्रालयका सम्पूर्ण प्रशासनिक काम सरकारी एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जीआईओएमएस) मार्फत डिजिटल रूपमा सञ्चालनमा ल्याइएको छ । साथै क्युआर प्रणाली मार्फत सेवाग्राहीले मन्त्रीसमक्ष सिधै गुनासो दर्ता गर्न सक्ने र त्यसको तत्काल सम्बोधन गर्ने व्यवस्था पनि कार्यान्वयनमा ल्याइएको छ । सेवाग्राहीलाई चौबीसै घण्टा सेवा उपलब्ध गराउने उद्देश्यले महिला हिंसा सहायता नम्बर ११४५, हराएका बालबालिकाका लागि १०४ तथा बाल हेल्प लाइन १०९८ लाई चौबीसै घण्टा सञ्चालनमा राखिएको मन्त्रालयले जनाएको छ । मन्त्री बादीकै नेतृत्वमा नेपाल रेडक्रस सोसाइटीमा नौ सदस्यीय नयाँ तदर्थ समिति गठन गरिएको छ भने अन्तर देशीय उद्धारलाई पनि निरन्तरता दिइएको छ । मन्त्रालयका अनुसार भारतको कोलकातास्थित सोनागाछीबाट नुवाकोटका दुई बालिकाको उद्धार गरिएको छ भने भारतको कुशीनगरबाट ४५३ नेपालीको उद्धार गरिएको छ । अपाङ्गतामैत्री पूर्वाधार विस्तारका लागि मन्त्रालयले तत्कालीन २२ वटा सङ्घीय मन्त्रालयको पहुँच युक्तता परीक्षण (एक्सेसिबिलिटी अडिट) सम्पन्न गरेको छ । त्यसै गरी प्रतिनिधिसभा र राष्ट्रिय सभामा साङ्केतिक भाषा दोभासे तथा क्याप्सन सेवा सुरु गरी श्रवण अपाङ्गता भएका नागरिकको सूचना पहुँच विस्तार गरिएको छ । अन्तर्राष्ट्रिय सहयोग परिचालनका क्षेत्रमा पनि मन्त्रालयले चार वटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँग सामान्य सम्झौता तथा २४ वटा परियोजना सम्झौताका लागि सहमति प्रदान गरेको जनाएको छ । मन्त्रालय मातहतका विभिन्न निकाय र सामाजिक संस्थाको आकस्मिक अनुगमनलाई पनि तीव्रता मन्त्री सिता बादीले पछिल्लो १०० दिनमा मन्त्रालय मातहतका विभिन्न निकाय र सामाजिक संस्थाको आकस्मिक अनुगमनलाई पनि तीव्रता दिएकी छन् । उनले समाज कल्याण परिषद्, राष्ट्रिय बाल अधिकार परिषद्, पशुपति वृद्धाश्रम, दीर्घकालीन पुनर्स्थापना केन्द्र, सिंहदरबार दिवा शिशु स्याहार केन्द्र, बाल सुधार गृह, एसओएस बालग्राम तथा अटिजम विद्यालय लगायतका संस्थाको स्थलगत अनुगमन गरी सेवा प्रवाह सुधार गर्न आवश्यक निर्देशन दिएकी छन् । त्यसै गरी मुस्कान सेवा बालगृहबाट आठ जना बालबालिकाको सुरक्षित स्थानान्तरण गरिएको छ भने बुढानीलकण्ठस्थित इस्कन केन्द्रमा भएको बाल दुर्व्यवहार घटनापछि आकस्मिक स्थलगत अनुगमन गरी आवश्यक निर्देशनसमेत दिइएको मन्त्रालयले जनाएको छ । मन्त्री बादीको नेतृत्वमा सार्वजनिक गरिएका यी उपलब्धिले मन्त्रालयले पहिलो १०० दिनमै सेवा प्रवाहलाई नागरिकमैत्री, डिजिटल, समावेशी र परिणाममुखी बनाउने प्रयासलाई प्राथमिकता दिएको देखिन्छ । महिला, बालबालिका, ज्येष्ठ नागरिक, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकार संरक्षण, सामाजिक सुरक्षा तथा उद्धार सेवामा केन्द्रित कार्यक्रममार्फत मन्त्रालयले सामाजिक क्षेत्रका सुधारलाई तीव्र बनाउने लक्ष्यसहित काम अघि बढाएको जनाएको छ ।
