SHARE
मेट्रो न्युज काठमाडौं · शनिबार २० असार २०८३ ०६:३२ PM · 1 मिनेट पढाइ

पाँचौँ संस्करणको महानगर अनुसन्धान शोधवृत्तिका १० उम्मेदवार छानिँदै : सहरी योजना आयोगमा छनोटका लागि प्रस्तुतिकरण र अन्तर्वार्ता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहरी योजना आयोगले अहिले ‘महानगर अनुसन्धान शोधवृत्ति’का उम्मेदवार छनोटका लागि अन्तर्वार्ता र प्रस्ताव सम्बन्धी प्रस्तुतिकरण सत्र सञ्चालन गरिरहेको छ । गएको पुष १ गते १० वटा विषयमा अनुसन्धान गर्न शोधकर्तालाई प्रस्ताव आव्हान गरेको थियो । अनुसन्धानको परिणामसँग नीतिगत निर्णयको सम्बन्ध, कार्यान्वयन वा उपयोगिता, पूर्वाधार तथा सामाजिक विकासमा आधारित परिणाम, आवश्यकतामा आधारित परियोजना जस्ता विषयलाई प्राथमिकतामा राखेर यस बर्ष अध्ययनका विषय छनोट गरिएका छन् । अनुसन्धान गर्न चाहेको विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र अनुसन्धान, अध्यापन वा विषयगत काममा २ बर्षको अनुभव हुने अनुसन्धानकर्ताबाट तोकिएका क्षेत्रमा अनुसन्धान गर्न बढीमा १५ पृष्ठसम्मको प्रस्ताव माग गरिएको थियो । प्रस्तावमा अनुसन्धानको पृष्ठभूमि, अनुसन्धानका विधि, क्षेत्र, सीमा, कार्य तालिका, अपेक्षित परिणाम तथा सम्भावित प्रभाव लगायत विषय समावेश गर्नु पर्ने सर्त थियो । शोधवृत्तिका लागि छानिन भाषागत रुपमा नेपाली वा अंग्रेजीमध्ये कुनै एक भाषामा पोख्त हुनुपर्नेछ । अध्ययनपछि प्रतिवेदन, लेख र प्रस्तुतिलाई नेपाली वा अंग्रेजीमध्ये एक भाषामा तयार पार्नु पर्नेछ । अनुसन्धानका लागि ६ महिनाको अवधि प्रदान हुनेछ । यस अवधिभित्र आवेदकले ४ पटक प्रस्तुतिकरण गर्नुपर्नेछ । आवेदकलाई उमेरका हद राखिएको छैन । अनुसन्धाता छनोट भएपछि शोध कार्यको पहिलो महिनामा अवधारणा तथा अनुसन्धानको रुपरेखा स्वीकृत गरिन्छ । दोस्रो महिनामा तथ्याङ्क संकलन तथा स्थलगत भ्रमण अवलोकन हुन्छ । तेस्रो र चौथो महिनामा तथ्य विश्लेषण, पाँचौँ महिनामा मस्यौदा प्रतिवेदन तयार पार्ने, सहसमीक्षा गर्ने, सहजकर्ताबाट पृष्ठपोषण लिनु पर्नेछ । छैटौँ महिनामा प्रस्तुतिकरण र अन्तिम प्रतिवेदन पेश गर्नुपर्नेछ । अनुसन्धातालाई महानगरपालिकाले करसहित १ लाख ५० हजार रुपियाँ उपलब्ध गराउनेछ । यसबाट अनुसन्धान, लेखनलगायतका काम गर्नुपर्नेछ । यो रकम ४ किस्तामा प्रदान हुनेछ । अध्ययन प्रस्ताव स्वीकृत भएपछि २० प्रतिशत, मध्यावधि प्रस्तुतिकरण र प्रतिवेदन पेश भएपछि ३० प्रतिशत, मस्यौदा प्रतिवेदन पेश गरेपछि ३० प्रतिशत र आयोगले आयोजना गरेको कार्यशालामा अन्तिम प्रतिवेदन प्रस्तुतिकरण र पेश गरेपछि बाँकी २० प्रतिशत रकमभुक्तानी हुनेछ । यस संस्करणका लागि ५५ जना अनुसन्धानकर्ताले प्रस्ताव पेश गर्नुभएको थियो । कार्यक्रमका बारेमा जानकारी दिँदै आयोगको सचिवालय प्रमुख नवराज थापाले भन्नुभयो, ‘उहाँहरुमध्ये पहिलो चरणमा २५ जना छानिनुभएको छ । यसरी छानिएकामध्येबाट अन्तर्वार्ता र प्रस्तुतिकरणबाट १० जनालाई छनोट गरेर शोधवृत्ति प्रदान गरिनेछ ।’ थापाका अनुसार यस वर्षका लागि १) सहरी सुशासन र विश्वव्यापी प्रतिस्पर्धा, २) महानगरको पहिचानमा सांस्कृतिक विविधता, ३) गुणस्तरीय सहरी बसोबास, ४) आर्थिक समृद्धिका लागि नवप्रवर्तन, ५) सहरी यातायात प्रणालीको पूर्वाधार, ६) वातावरण, जलबायु र उत्थानशीलता, ७) सामाजिक समावेशीकरण र समता, ८) शिक्षा तथा सांस्कृतिक आदानप्रदान, ९) सुरक्षा, स्वास्थ्य र कल्याण र १०) तथ्याङ्कमा आधारित अनुगमन मूल्याङ्कन प्रणालीको संस्थागत विकासलाई क्षेत्रगत शोध विषयका रुपमा चयन गरिएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: मेट्रो न्युज काठमाडौं