काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा : सबै वडालाई पूर्ण खोप सुनिश्चित प्रमाण पत्र
काठमाडौँ । काठमाडौँ महानगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । शुक्रबार राष्ट्रिय सभा गृहमा आयोजना गरिएको औपचारिक समारोहमा काठमाडौँ जिल्ला खोप समन्वय समितिका सदस्य सचिव सागरप्रसाद घिमिरेले महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोललाई पूर्ण खोप सुनिश्चित भएको प्रमाण पत्र प्रदान गर्नुभएको हो । समारोहमा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले वडा कार्यालयहरुलाई पूर्ण खोप सुनिश्चित वडा प्रमाण पत्र प्रदान गर्नुभयो । समारोहमा अधिकारीहरुले आगामी दिनमा कुनै पनि बालबालिकालाई खोपबाट बञ्चित हुन नदिने प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्नुभएको थियो । समारोहमा स्वास्थ्य विभागका खोप फोकल पर्सन मैयाँ सैँजुलाई पूर्ण खोपका लागि योगदान दिएवापत सम्मान प्रदान गरिएको थियो । त्यस अवसरमा बोल्दै कार्यवाहक प्रमुख डंगोलले, खोप बालबालिकाको जन्मसिद्ध अधिकार भएको उल्लेख गर्दै आफ्ना अधिकारका बारेमा बोल्न नसक्ने बालबालिकालाई अभिभावक र सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । ‘बाल मृत्यृदर घटाउन, व्यक्तिमा हुन सक्ने अपाङ्गता घटाउन खोप प्रभावकारी माध्यम हो ।’ डंगोलले भन्नुभयो, ‘बालबालिकालाई जोखिमबाट बचाउन सक्रिय स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविकाको योगदान अतुलनीय छ । हरेक बालबालिकालाई खोपबाट बञ्चित हुन नदिन हरेक अभिभावकहरुलाई दायित्व निर्वाह गर्न अनुरोध गर्दछु ।’ ‘पूर्ण खोप सुनिश्चित गर्न २०८२ जेठ २८ गतेदेखि स्वास्थ्य विभागले खोप लगाउनबाट छुटेका लक्षित समूहका बालबालिका खोज्ने र खोप लगाउने कार्यक्रम ‘घरधुरी सर्वेक्षण’ प्रारम्भ गर्यो ।
