SHARE
Samata Press · शनिबार २० असार २०८३ १०:२२ AM · 1 मिनेट पढाइ

अनलाइन हिंसाबाट बिदेसिन बाध्य भएको दाबी गर्दै उषा रजकले गरिन् न्यायको माग

काठमाडौँ । कलाकार तथा सामाजिक अभियन्ता उषा रजकले आफूलाई अनलाइन उत्पीडन गर्दै आएका संजोक कार्कीले पुनः राति-राति फोन र सन्देश पठाउन थालेको आरोप लगाउँदै न्याय र सुरक्षा सुनिश्चित गर्न सरकारसँग आग्रह गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै रजकले केही दिनअघि नेपाल प्रहरीको साइबर ब्युरोबाट अनलाइन हैरानीसम्बन्धी उजुरी दर्ता गर्न भोटाहिटीस्थित कार्यालयमा उपस्थित हुन फोन आएको जानकारी दिएकी छन् । उनले साइबर ब्युरोले नागरिकको सुरक्षाका लागि देखाएको तत्परताप्रति धन्यवाद व्यक्त गर्दै त्यसबाट आफूले सुरक्षित महसुस गरेको उल्लेख गरेकी छन् । रजकका अनुसार त्यस बेला संजोक कार्कीले सम्पर्क गर्न छाडेकाले आफू साइबर ब्युरोमा उजुरी दर्ता गर्न नगएको बताएकी छन् । तर, पछिल्लो समय पुनः मेसेन्जरमा सन्देश पठाउने र राति फोन गर्न थालेपछि आफू पुनः त्रसित बनेको उनको भनाइ छ । उनले आफू ती सन्देशसमेत नखोलेको उल्लेख गर्दै त्यसमा अश्लील सामग्री, धम्की वा अन्य आपत्तिजनक विषय हुन सक्ने आशङ्का व्यक्त गरेकी छन् । फोन गर्नु नै आफूलाई त्रासमा पार्ने र धम्की दिने माध्यम बनेको उनको दाबी छ । रजकले आफूलाई लामो समयदेखि मानसिक तनाव दिएको र त्यसकै कारण परिवारको सल्लाहमा केही समयका लागि अस्ट्रेलिया बस्न बाध्य भएको उल्लेख गरेकी छन् । नेपालमा एक्लै बस्दै आएको र सुरक्षाको दृष्टिले परिवारको आग्रहमा विदेश गएको उनले बताएकी छन् । उनले आफ्नो सामाजिक सञ्जालमा आएको गालीगलौज र धम्कीका कारण आफूले महिनौँदेखि तयारी गरिरहेको एक अन्तर्राष्ट्रिय सम्मेलनमा वक्ताका रूपमा सहभागी हुन नपाएको तथा अर्को सातादेखि सुरु हुने चलचित्र छायाङ्कनसमेत स्थगित गर्नुपरेको उल्लेख गर्दै आयोजक र निर्माण टोलीसँग क्षमा याचना गरेकी छन् । रजकले संजोक कार्कीको राजनीतिक पहुँच रहेको आफूलाई लागेको उल्लेख गर्दै सामाजिक सञ्जालमा सार्वजनिक भएका केही सामग्रीमा उनी गृहमन्त्री सुदन गुरुङका निजी सचिव (पिए) जेम्स कार्कीसँग निकट देखिएको दाबी गरेकी छन् । उनले गृहमन्त्री गुरुङलाई सम्बोधन गर्दै आफूलाई अनलाइन हैरानीबाट जोगाउन पहल गरिदिन आग्रह गरेकी छन् । उनले गृहमन्त्रीप्रति सम्मान व्यक्त गर्दै आफूले निष्पक्ष न्याय र सुरक्षा मात्र खोजेको उल्लेख गरेकी छन् । साथै, उत्पीडनमा परेका महिला, बालबालिका तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिको सुरक्षाका लागि राज्य थप संवेदनशील बन्नुपर्नेमा जोड दिएकी छन् । रजकले संजोक कार्कीबाट आफूजस्तै अन्य महिलाले पनि अनलाइन हैरानी भोगेको भन्दै केही महिलाले आफूलाई त्यससम्बन्धी स्क्रिन सट उपलब्ध गराएको उल्लेख गरेकी छन् । ती महिलाको सहमतिमा नेपाल फर्किएपछि सबै प्रमाण साइबर ब्युरोमा बुझाउने तयारी रहेको पनि उनले बताएकी छन् । फेसबुक स्ट्याटसको अन्त्यमा उनले आफूलाई न्याय आवश्यक रहेको उल्लेख गर्दै सम्बन्धित निकायसँग कानुनी प्रक्रिया अघि बढाइदिन आग्रह गरेकी छन् ।