नेपाल बाल संगठनमा मन्त्री सीता बादीको छड्के अनुगमन, सुधारका लागि निर्देशन
काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले नक्सालस्थित नेपाल बाल संगठनमा छड्के अनुगमन गर्दै बाल संरक्षण सेवालाई थप प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउन निर्देशन दिएकी छन् । शुक्रबार मन्त्रालय र आफ्नो सचिवालयको टोलीसहित नेपाल बाल संगठन पुगेकी उनले संस्थाले बालबालिकालाई प्रदान गरिरहेको सेवा–सुविधा, संस्थागत व्यवस्थापन, भौतिक पूर्वाधार, सरसफाइ, सुरक्षा व्यवस्था तथा समग्र सञ्चालन अवस्थाको स्थलगत निरीक्षण गरेकी हुन् । अनुगमनका क्रममा मन्त्री बादीले संगठनका पदाधिकारीसँग संस्थाको प्रशासनिक, वित्तीय तथा बाल संरक्षणसम्बन्धी गतिविधिबारे जानकारी लिँदै बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखेर सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन आवश्यक सुधारात्मक कदम तत्काल अघि बढाउन निर्देशन दिइन् । उनले बाल संरक्षणसँग सम्बन्धित सबै निकायले प्रचलित कानुन, निर्धारित मापदण्ड तथा बालअधिकारसम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्दै बालमैत्री वातावरण सुनिश्चित गर्नुपर्नेमा विशेष जोड दिइन् । मन्त्री बादीले नेपाल बाल संगठनले सुशासन, पारदर्शिता र जवाफदेहितालाई संस्थागत गर्दै बाल संरक्षण प्रणालीलाई अझ सुदृढ बनाउनुपर्ने बताइन् । साथै, संस्थाका सम्पूर्ण गतिविधि बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखेर सञ्चालन गर्नुपर्नेमा पनि उनले जोड दिइन् । अनुगमनका क्रममा मन्त्री बादीले बाल संरक्षणका क्षेत्रमा देखिएका चुनौतीको समयमै समाधान गर्दै संस्थाप्रति नागरिकको विश्वास अझ मजबुत बनाउन प्रभावकारी कार्यसम्पादन आवश्यक रहेको उल्लेख गरिन् ।
