SHARE
Samata Press · शुक्रबार​ १९ असार २०८३ ०९:३४ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री बालेनलाई आङ्देम्बेले भने- प्रधानमन्त्री र संवैधानिक परिषद् अध्यक्षको रुपमा म चिन्दिनँ

काठमाडौं। प्रमुख विपक्षी नेता तथा संवैधानिक परिषद्का सदस्य भीष्मराज आङ्देम्बेले निर्वाचन आयोगको रिक्त प्रमुख आयुक्त र आयुक्त सिफारिस प्रक्रियामा प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष बालेन्द्र शाह (बालेन)ले अपनाएको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाएका छन् ।  उनले संवैधानिक निकायमा नियुक्ति गर्दा परिषद् सदस्यहरूसँग संवादको शैली अपनाउनुपर्नेमा त्यसो नगरिएको भन्दै प्रधानमन्त्रीको शैलीप्रति सैद्धान्तिक असहमति जनाए । परिषद्को शुक्रबार बसेको बैठकमा आङ्देम्बेले संवेदनशील संवैधानिक निकाय निर्वाचन आयोग लामो समय रिक्त रहन नहुने तर नियुक्तिको प्रक्रिया अघि बढाउनुअघि परिषद्का सदस्यहरूसँग पर्याप्त छलफल हुनुपर्ने उनको भनाइ थियो । ‘निर्वाचन आयोगजस्तो संवैधानिक निकाय रिक्त राख्नु हुँदैन, त्यसमा मेरो पनि सहमति छ,’ उनले प्रधानमन्त्री बालेनलाई भने, ‘तर, तपाईंको जुन खालको शैली छ, त्यसमा सैद्धान्तिक असहमति त छँदै छ । प्रमुख आयुक्तसँगै आयुक्त सिफारिस गर्ने विषयमा यसअघि नै छलफल गर्नुपथ्र्यो । त्यसो नगरेकोमा मेरो घोर आपत्ति छ ।’ आङ्देम्बेको यस्तो असन्तुष्टिपछि प्रधानमन्त्री बालेनले आफूले व्यक्तिगत रूपमा संवादको प्रयास गरेको दाबी गरे । ‘मैले छुट्टाछुट्टै संवाद गर्न खोजेको थिएँ । श्रीमान् (प्रधानन्यायाधीश)सँग पनि कुरा गर्न खोजेको थिएँ । तर बाहिर पत्रकारहरूले उल्टो अर्थ लगाउने रहेछन्,’ उनको भनाई उदृत गर्दै परिषदका एक सदस्यले भने । प्रधानमन्त्रीको जवाफप्रति पुनः प्रतिक्रिया दिँदै आङ्देम्बेले त्यसो भए विपक्षी नेता, सभामुख र राष्ट्रियसभा अध्यक्षसँग प्रत्यक्ष संवाद गर्नु उपयुक्त हुने धारणा राखे ।