जलवायु परिवर्तनका कारण गर्भवती, सुत्केरी, बालबालिका र सीमान्तकृत समुदायको स्वास्थ्य जोखिम बढ्दो
काठमाडौं । जलवायु परिवर्तनको असरले हिमालमा हिउँ पग्लनु र तापक्रम बढ्नु मात्र नभई बालबालिका र सीमान्तकृत समुदायको दैनिकी तथा स्वास्थ्यमा समेत गम्भीर असर पर्दै गएको एक कार्यक्रमका सहभागीहरूले बताएका छन्। जलवायु परिवर्तनले बालबालिकामाथि पारेको प्रभाव विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी जलवायु विज्ञहरूले जलवायु परिवर्तनलाई हिमालमा हिउँ पग्लिनु र समयमा पानी नपर्नुसँग मात्र जोडेर हेर्दा अन्याय हुने बताएका हुन्। पछिल्ला अध्ययनहरूले समेत जलवायु परिवर्तनका कारण गर्भवती महिला र सुत्केरीले पाउने स्वास्थ्य सेवाको अधिकार प्रभावित भएको देखाएको छ। जलवायु विज्ञ खुस्बु पौडेलले जलवायु परिवर्तनकै कारण महिला, बालबालिका, सुत्केरी तथा गर्भवतीको स्वास्थ्य सेवा पाउने नैसर्गिक अधिकार गुम्दै गएको बताइन्। विभिन्न अध्ययन अनुसार जलवायु परिवर्तनकै कारण महिला र बालबालिकामा नियमित खोप छुट्ने, परिवार नियोजनका साधनको अभावका कारण अनिच्छित गर्भधारण हुने अवस्था देखिएको पाैडेलले बताइन्। अध्ययनले विद्यालय जाने उमेरका किशोरीहरू पानीको समस्याका कारण महिनावारी भएको समयमा विद्यालय जान नसक्ने अवस्था देखाएको उनको भनाइ थियो । पौडेलले टाढाबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यताका कारण बालबालिकाको पढाइसमेत प्रभावित हुने गरेको उल्लेख गरिन्। उनका अनुसार जलवायु परिवर्तनको असर वातावरणमा मात्र सीमित नभई शिक्षा, स्वास्थ्य, पोषण, सरसफाइ तथा बालअधिकारमा समेत प्रत्यक्ष रूपमा देखिन थालेको छ । जलवायु विज्ञ मञ्जित ढकालले मानवजन्य गतिविधिका कारण सिर्जित जलवायु परिवर्तनले वर्षाको सम्भावना, प्रवृत्ति र तीव्रतालाई कति हदसम्म प्रभावित ग¥यो भन्ने विषयमा विभिन्न समीक्षात्मक अध्ययन गरिएको बताए। उनका अनुसार पृथ्वीको तापक्रम बढ्दै जाँदा मुलुकका करिब २५ प्रतिशत हिमनदीको क्षेत्रफल साँघुरिएको छ।
