SHARE
Samata Press · शुक्रबार​ १९ असार २०८३ १२:३६ PM · 1 मिनेट पढाइ

असई थमन विक हत्या प्रकरणमा पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ

काठमाडौँ । नेकपा (एमाले)का नेता तथा प्रतिनिधिसभाका पूर्वसदस्य लक्ष्मी महतो कोइरीलाई सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा प्रहरीले पक्राउ गरेको छ। उच्च अदालत जनकपुरधामले बुधबार उक्त प्रकरणमा कोइरीलाई पाँच वर्ष कैद सजाय हुने फैसला गरेपछि प्रहरीले बिहीबार साँझ महोत्तरीको गौशाला–५ स्थित एमाले पार्टी कार्यालयबाट उनलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक पञ्चलाल गोलेले अदालतको फैसलाअनुसार कोइरीलाई नियन्त्रणमा लिइएको जानकारी दिए । एमालेको मधेश प्रदेश कमिटी सदस्यसमेत रहेका उनलाई पक्राउपछि जिल्ला सदरमुकाम जलेश्वर लगिएको छ। यसअघि महोत्तरी जिल्ला अदालतले २०८० साल मंसिर २८ गते यही मुद्दामा गरेको फैसलामा कोइरीलाई सफाइ दिएको थियो। तर उच्च अदालतले उक्त फैसला उल्टाउँदै दोषी ठहर गरेको हो।