SHARE
Samata Press · बिहीबार १८ असार २०८३ ०५:१३ PM · 1 मिनेट पढाइ

दैलेखमा यात्रुबाहक माइक्रो बस कर्णाली नदीमा खस्यो, उद्धार कार्य जारी

दैलेख । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेतरामा एउटा यात्रुबाहक माइक्रो बस दुर्घटना भई कर्णाली नदीमा खसेको छ।  सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी सडकबाट करिब ४०० मिटर तल खसेर नदीमा डुबेको हो। प्रारम्भिक विवरण अनुसार गाडीमा चालकसहित पाँच जना सवार थिए। गाडी चालक सुर्खेतको पञ्चपुरी नगरपालिका–८ निवासी अन्दाजी २८ वर्षीय तुलाराम सुवेदी हुन्। घटनास्थलमा तत्कालै सुरक्षाकर्मी र स्थानीयबासी उद्धारमा खटिएका छन्। अहिलेसम्म घटनास्थलबाट एक जना पुरुष यात्रुलाई फेला पारी सडकतर्फ ल्याउने कार्य भइरहेको छ। नदीमा डुबेको गाडी र अन्य बेपत्ता यात्रुहरूको खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ । घटनाको विस्तृत विवरण र क्षतिको पूर्ण जानकारी आउन बाँकी छ।