SHARE
Samata Press · बिहीबार १८ असार २०८३ १०:०९ AM · 1 मिनेट पढाइ

विप्लवलाई काजी गुरुङको प्रश्न: चन्दाले बनाएको घर, कार्यालय र जग्गा तपाईँको आफन्तको कि पार्टीको ?

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) भित्र देखिएको आन्तरिक विवाद झन् चर्किँदै गएको छ । पार्टीका सचिवालय सदस्य तथा पूर्व संविधानसभा सदस्य उमा भुजेललाई फरक मत राखेको आरोपमा पार्टीबाट निष्कासन गरिएको केही दिन नबित्दै गण्डकी प्रदेशका प्रभावशाली नेता तथा केन्द्रीय सदस्य काजी गुरुङ पनि पार्टीबाट निष्कासित भएका छन् । तर काजी गुरुङ भने पार्टीले कारबाहीको औपचारिक निर्णय सार्वजनिक गर्नुअघि नै आफू पार्टी परित्याग गरिसकेको घोषणा गर्दै आएका थिए । पछिल्ला केही दिनयता उनले सामाजिक सञ्जालमार्फत महासचिव विप्लवको नेतृत्व, पार्टीको कार्यदिशा, सङ्गठन सञ्चालन शैली र आर्थिक पारदर्शितामाथि लगातार प्रश्न उठाइरहेका थिए । यहीबिच पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'ले बुधवार विज्ञप्ति जारी गर्दै गुरुङलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गर्दै निष्कासन गरिएको जानकारी दिएका हुन् । पार्टीले लगायो आर्थिक अनियमिततादेखि गुटबन्दीसम्मको आरोप प्रवक्ता प्रकाण्डद्वारा जारी विज्ञप्तिमा काजी गुरुङमाथि पार्टी विचार, एकीकृत जनक्रान्तिको कार्यदिशा, नेतृत्व, पद्धति र अनुशासनविरुद्ध अवसरवादी तथा गुटवादी गतिविधि गरेको आरोप लगाइएको छ । विज्ञप्तिअनुसार गुरुङले पार्टीको नाममा आर्थिक अपचलन गरेको, पोखरास्थित लिचीवारी जग्गा प्रकरणमा अनुचित आर्थिक लेनदेन गरेको, पार्टीको नाममा मुद्दा हेरेर रकम असुलेको, प्रदेश कार्यालयको जिन्सी सम्पत्ति हिनामिना गरेको, सङ्गठनभित्र अराजकतावादी तथा फुटवादी गतिविधि सञ्चालन गरेको तथा पार्टीविरुद्ध 'गोयबल्स शैली'मा दुष्प्रचार गरेको आरोप लगाइएको छ । त्यस्तै, पार्टीमा सक्रिय नरहेका व्यक्तिलाई समेत प्रलोभनमा पारेर किर्ते हस्ताक्षरसहित भ्रामक नामावली तयार गरी सामाजिक सञ्जाल र सञ्चारमाध्यममा अफवाह फैलाएको आरोप पनि विज्ञप्तिमा उल्लेख छ । गण्डकी प्रदेश समितिको सिफारिसका आधारमा उनलाई पार्टीका सबै जिम्मेवारीबाट मुक्त गर्दै निष्कासन गरिएको प्रवक्ता प्रकाण्डले बताएका छन् । विज्ञप्तिमा नेकपा (माओवादी)लाई अमेरिकी साम्राज्यवाद र नवदलाल पुँजीवादविरुद्ध सङ्घर्षरत 'वास्तविक राजनीतिक प्रतिनिधि' पार्टी दाबी गर्दै पार्टी, नेतृत्व र जनक्रान्तिविरुद्ध भइरहेको गतिविधिप्रति सतर्क रहन नेता-कार्यकर्ता र आमजनतालाई आग्रह पनि गरिएको छ । 'फर्मानले मेरो मूल्य मान्यता बदलिँदैन' पार्टीको विज्ञप्ति सार्वजनिक भएको केही बेरमै काजी गुरुङले फेसबुकमार्फत छोटो प्रतिक्रिया दिएका छन् । उनले लेखेका छन्, 'कसैले फर्मान जारी गर्दैमा मेरो मूल्य-मान्यतामा एक इन्च पनि तलमाथि हुँदैन । एक मुठी सास रहुन्जेल वाम एकता र पुनर्गठनको मुद्दाबाट पछि हट्दिन । यो लडाइँ र बहस जारी रहन्छ ।'  उनको यो अभिव्यक्तिलाई पार्टीको कारबाही अस्वीकार गर्दै आफ्नो राजनीतिक अडान कायम राख्ने सङ्केतका रूपमा हेरिएको छ । विप्लवलाई १३ सार्वजनिक प्रश्न यसको भोलिपल्ट बिहीबार बिहान काजी गुरुङले फेरि फेसबुकमार्फत महासचिव विप्लवलाई लक्षित गर्दै १३ वटा सार्वजनिक प्रश्न अघि सारेका छन् । ती प्रश्न केवल व्यक्तिगत असन्तुष्टिसम्म सीमित नभई पार्टीको समग्र राजनीतिक दिशा, नेतृत्वको नैतिकता र सङ्गठन सञ्चालन शैलीसँग सम्बन्धित छन् । उनले पार्टीको आजसम्मको राजनीतिक समीक्षा किन नगरिएको, निर्वाचनमा लगातार हार व्यहोरेपछि नेतृत्वले नैतिक जिम्मेवारी किन नलिएको, बाम एकता र कम्युनिस्ट आन्दोलनको पुनर्गठनको बहस किन रोकिएको तथा समाजवादी मोर्चा र रणनीतिक संयुक्त मोर्चा किन टिकाउन नसकिएको भन्ने प्रश्न उठाएका छन् । त्यस्तै, चुनावमा सहभागी हुनुपर्ने बाध्यता के थियो, पार्टी कार्यकर्ताले चन्दा उठाएर बनाएका कार्यालय, घर र जग्गा पार्टीको नाममा नराखी नेताका आफन्तको नाममा किन राखिएको भन्ने प्रश्नसमेत उनले सार्वजनिक गरेका छन् । गुरुङले पार्टीभित्र छलफल गर्न नपाउने अवस्था किन सिर्जना भयो, आन्दोलनको क्षति नेतृत्वका कारण भयो कि कार्यकर्ताका कारण भन्ने प्रश्न पनि उठाएका छन् । उनले अन्त्यमा आफू विरुद्ध लगाइएका सबै आरोप कानुनी र राजनीतिक रूपमा पुष्टि गर्न चुनौती दिँदै, 'म सबै प्रकारको लडाइँ लड्न र सामना गर्न तयार छु,' भनेका छन् । उमा भुजेल निष्कासनपछि बढ्यो असन्तुष्टि पार्टीभित्रको विवाद उमा भुजेलको निष्कासनसँगै थप सतहमा आएको देखिन्छ । फरक मत राखेको आरोपमा सचिवालय सदस्य उमा भुजेललाई हटाएपछि पार्टीभित्र असन्तुष्ट नेता सार्वजनिक रूपमा बोल्न थालेका छन् । त्यसयता एकपछि अर्को नेताले पार्टी परित्याग गर्ने क्रम जारी छ । यसअघि पोलिटब्युरो सदस्य भेषराज भुसाल, वसन्त श्रेष्ठ र विनोद उपाध्यायले पनि महासचिव विप्लवको नेतृत्वमा अब क्रान्ति सम्भव नरहेको निष्कर्षसहित पार्टीबाट अलग भएको घोषणा गरिसकेका छन् । त्यसभन्दा अघि विप्लवका निकट मानिएका केन्द्रीय सदस्य चन्द्र खड्का  'असल'ले पनि पार्टी छाडेका थिए । अब काजी गुरुङको निष्कासनसँगै पार्टीभित्रको आन्तरिक मतभेद नेतृत्वको निर्णयमा सीमित नरही सार्वजनिक आरोप–प्रत्यारोपको चरणमा प्रवेश गरेको देखिएको छ । नेतृत्वमाथि गम्भीर प्रश्न, पार्टीले देखायो कठोरता पछिल्ला घटनाक्रमले विप्लव नेतृत्वको नेकपा (माओवादी)भित्र फरक मतप्रति नेतृत्वको असहिष्णुता बढेको आरोप एकातिर छ भने पार्टीले भने त्यसलाई अनुशासनविहीन, गुटवादी र अवसरवादी गतिविधिमाथिको कारबाहीका रूपमा व्याख्या गरिरहेको छ । एकातिर नेतृत्वले पार्टीविरुद्ध षड्यन्त्र र दुष्प्रचार भइरहेको दाबी गरिरहेको छ भने अर्कोतर्फ पार्टी छाड्ने नेताले समीक्षा, आत्म आलोचना, वाम एकता, सम्पत्तिको पारदर्शिता र आन्तरिक लोकतन्त्रका प्रश्न उठाइरहेका छन् । यही कारण विप्लव नेतृत्वको नेकपा (माओवादी) अहिले केवल सङ्गठन विस्तारको चुनौतीसँग होइन, नेतृत्वप्रतिको विश्वास, आन्तरिक लोकतन्त्र र वैचारिक एकताको गम्भीर परीक्षाबाट पनि गुज्रिरहेको राजनीतिक विश्लेषकको बुझाइ छ ।