आलुको परिकारमा साङ्ला भेटिएपछि झम्सिखेलस्थित अडोरा होल्डिङलाई २ लाख ५० हजार जरिवाना
काठमाडौँ । ललितपुर महानगरपालिका–३ झम्सिखेलस्थित अडोरा होल्डिङलाई खाद्य सुरक्षा मापदण्ड उल्लङ्घन गरेको पाइएपछि २ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार आलुको परिकारमा साङ्ला भेटिएको भन्दै व्हाट्सएपमार्फत उजुरी प्राप्त भएपछि विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले बुधवार आकस्मिक बजार अनुगमन गरेको थियो । अनुगमनका क्रममा एक लिटरका तीन बोतल फ्रुट सिरपको उपभोग्य मिति सकिएको, लेबलविहीन करिब तीन किलो चाउमिन प्रयोग गरिएको, कृत्रिम खाद्य रङ प्रयोग भएको तथा प्रयोगपछि राखिएको करिब एक लिटर तेलको टीपीएम मूल्य ३३ रहेको पाइएको विभागले जनाएको छ । साथै खाद्य सामग्री भण्डारणका लागि प्रयोग गरिएको फ्रिजसमेत अव्यवस्थित अवस्थामा रहेको पाइएको छ । अनुगमनपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम अडोरा होल्डिङलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ । विभागका अनुसार म्याद गुज्रिएका खाद्य सामग्री थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ भने उच्च टीपीएम भएको करिब एक लिटर प्रयोग गरिएको तेल र लेबलविहीन करिब तीन किलो चाउमिन नष्ट गरिएको छ । साथै, व्यवसायलाई खाद्य स्वच्छता कायम गर्न, म्याद नाघेका खाद्यवस्तुको प्रयोग नगर्न तथा फ्रिजको व्यवस्थित प्रयोग गर्न निर्देशन दिइएको विभागले जनाएको छ ।
